झापाको दमकबाट कमलगाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने रतुवा खोलाको निर्माणाधीन पुलमुनिबाट करिब चार सय टिपर नदीजन्य सामग्री गायब भएको छ।

पुल निर्माण गर्दा टेको दिन ल्याइएको करिब चार सय टिपर बालुवा र गिटी गायब भएको हो । नदीजन्य सामग्री स्थानीय तहले ठेक्का लगाएको ठाउँबाट मात्र उठाएर बेच्न पाइन्छ । तर, पुलमुनि रहेको नदीजन्य सामग्री लकडाउनको समयमा बाहिर लगेर बेचबिखन गरिएको छ।

पुल निर्माण सकिएपछि मुनि रहेको सामग्री एप्रोच रोडमा प्रयोग गर्न पाइन्छ। बाँकी नदीजन्य सामग्री पुलमुनिबाट हटाएर खोलामै छाड्नुपर्ने नियम छ।

तर, रतुवा पुलमुनिको करिब चार सय टिपर नदीजन्य सामग्री गायब भएको दमक नगरपालिका, कमल, चुलाचुली र मिक्लाजुङ गाउँपालिकाले बनाएको खोला अनुगमन समितिका संयोजक तथा दमक– २ का अध्यक्ष प्रजापति सापकोटाले बताए।

उक्त नदीजन्य सामग्री बाहिर लैजानबाट रोक्न प्रहरीलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भएको उनको आरोप छ। ‘मैले पटक–पटक इलाका प्रहरी कार्यालय दमकमा डिएसपी’सावलाई रोक्न आग्रह गरेको छु। त्यहाँ खन्न प्रयोग गरिएका मेसिन र टिपरसहित मान्छे पनि पक्रनु भनेको थिएँ,’ उनले भने, ‘तर, उहाँले मेसिनको चाबी मात्र खोस्नुभएछ । मान्छे पक्रनु भएनछ।’

त्यति ठूलो मात्रामा त्यहाँ रहेको नदीजन्य सामग्री कसले लग्यो भन्ने पत्ता लागेको छैन। ‘हामीले अनुगमन समिति बनाएका छौँ। समितिले केही दिनपछि काम थाल्छ । तर, त्यहाँ गएर हेर्दा नदीजन्य सामग्री यत्रतत्र लगिएको पाइयो,’ कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले भने।

अब कहाँ र कसले लग्यो भन्ने छानबिनपछि बाहिर ल्याइने उनले बताए। कमल गाउँपालिकको ५ नम्बर वडाले भने त्यहाँको सामग्री चोलुङ टोल विकासमार्फत स्थानीय सकड निर्माणमा लैजान सिफारिस दिएको पाइएको छ। तर, उक्त सिफारिसको दुरुपयोग गरेर नदीजन्य सामग्री बाहिर बेचिएको वडाध्यक्ष डम्बर निरौलाको दाबी छ।

‘सिम्ले क्षेत्रका स्थानीय समाजसेवी उमेश तुम्ब्रुक, वीरबहादुर चेम्जोङलगायत स्थानीय सिफारिस माग्न आउनुभएको थियो। ठेकेदार कम्पनीले पनि सिफारिस भए दिन्छौँ भनेको रहेछ । स्थानीय क्षेत्रको बाटो बनाउने कामका लागि हो भनेर मैले पनि सिफारिस दिएँ,’ उनले भने, ‘तर, त्यसकै आधारमा निकै नदीजन्य सामग्री गायब भएछ । धन्न भनेको बाटोचाहिँ बनाएछन् ।’

यसरी नदीजन्य सामग्री अवैध रूपमा निकालेर बेच्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने उनी बताउँछन्।इलामको चुलाचुली गाउँपालिकाकै भविष्य जोडिएको यो पुल निर्माण कम्पनीले भने गाउँपालिकाको सिफारिस लिएर आएकाले नदीजन्य सामग्री दिइएको दाबी गरेको छ।

Facebook Comments Box