भारतीय क्वारेन्टाइनबाट लखेटिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका प्रदेश महासचिव भुवन कापरी खटिमामा शनिवार धर्नामा बसेका छन् ।

उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइनमा राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो । करीब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १५० भन्दा बढी नेपालीले कंग्रेस प्रदेश महासचिव कापरीले भोजनको व्यवस्थापन समेत गरेका छन् ।

‘लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइन नबसेकालाई खटिमामै क्वारेन्टाइनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भनेर धर्नामा दिइयो,’ खटिमाको सञ्जयपार्क शहीद स्मृतिमा धर्नामा बसेका उनले भने, ‘खटिमा क्षेत्रमा अलपत्र नेपाली भारतका विभिन्न ठाउँबाट पैदल आउने क्रम रोकिएको छैन ।’

अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेको छन् । उनीहरू कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीय रहेको बुझिएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमावर्ती भारतीय बजारमा नेपाली अन्यत्रबाट आइरहेको जानकारी प्राप्त भइरहेको बताए ।

‘हाम्रो अफिसियल तथ्यांकअनुसार सीमावर्ती भारतीय बजार बनबासा र टनकपुर क्वारेन्टाइनमा २५१ नेपाली छन्,’ उनले भने, ‘नेपाल ल्याउने विषयमा केन्द्रबाट केही निर्देशन आएको छैन ।’ – शेरबहादुर सिंह/रासस

Facebook Comments Box