पालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या १०१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कपिलबस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो। उनीहरुको स्वाबको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो।

संक्रमित दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ। कपिलवस्तुमा कोरोनाका संक्रमित फेला परेको पहिलो घटना हो। यद्यपि, छिमेकी जिल्ला रुपन्देहीमा भने एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपालमा हालसम्म फेला परेका १ सय १ कोरोना संक्रमितमध्ये १९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। बाँकीको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालसहित मुलुकका अन्य अस्पतालमा उपचार भइरहेकाे छ।

नेपालमा काेराेना राेकथामका लागि ११ चैतबाट लकडाउन लागू गरिएकाे छ भने सीमानाका बन्द नै छन्। याे बाहेक आन्तरिक र बाह्य उडान पनि ठप्प छ। मन्त्रिपरिषदले पछिल्लाे पटक ५ जेठसम्मका लागि लकडाउन लम्ब्याइसकेकाे छ।

Facebook Comments Box