कमल,२३ बैशाख । झापा,कमल गाँउपालिका ५ मंगलवारेका हुकुमसिंह राईले लकडाउनका कारण खान समस्या परेका सय बढी अतिविपन्न परिवारलाई करिव रु १ लाख ५० हजार मूल्य बराबरको खाद्यान्न राहत दिएका छन् ।
गाँउपालिकाले दिएको राहत वितरणमा छुटेका परिवारलाई राहत पुरयाँउन राईले अभियानमार्फत गाँउपालिका भरिका १ सय ३० परिवारलाई चामल,दाल,तेल,सोयाविन,नुन,सावुन लगायतका खाद्यान्न सामाग्री दिएका हुन् । प्रति परिवार २५ केजी चामल,आधा लिटर तेल, एक केजी दाल,एक केजी नुन, आधा केजी सोयाविन र एउटा सावुन दिएको राहत वितरणमा सहयोगी कमल ५ का रुपनारायण निरौलाले बताएका छन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ )को संक्रमण हुन नदिन सरकारले जारी राखेका लकडाउनले दैनिक ज्यालादारी तथा मजदुरी गरि जिविकोपार्जन गरिआएका विपन्न समुदायको चुलो बाल्न समस्या भएका परिवारलाई पहिचान गरि घरघर पुगेर राहत वितरण गरिदैआएको उनले वताएका छन् । लकडाउनले कमल गाँउपालिका बासी कसैको चुलो बाल्न समस्या हुन नदिन आफूले त्यसरी राहत दिएको उनको भनाई छ ।
नेपाली कांग्रेसका जिल्ला सदस्य तथा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट गाँउपालिका अध्यक्षका उम्मेदवार भई गोलाप्रथाबाट पराजय भोगेका युवा व्यक्तित्व राईले विपदमा समयमा हुनेले नहुनेलाई सहयोग गर्ने नेपालीको संस्कार भएकाले त्यसरी आफूले स्वेच्छिक राहत दिएको वताए । सामाजिक कार्यमा सक्रिय राईले कमलका कसैलाई पनि भोकै मर्न नदिन आफूले यो कार्य निरन्तर जारी राख्ने समेत प्रतिवद्धता जनाएका छन् ।