बिर्तामोड,१३ बैशाख। झापामा कोरोना भाइरस संक्रमणको पुष्टि भए लगत्तै जिल्लास्थित मुख्य राजनीतिक दलका प्रमुखहरुले भिडियो कन्फ्रेन्सबाट ९ बुँदे निष्कर्ष निकालेका छन् । संवाद समूह झापाले गरेको भिडियो कन्फ्रेन्समा जिल्लाका मुख्य दलहरुका प्रमुखहरुले जिल्लामा भइरहेका कामको गम्भीर समीक्षासहित कोरोना विरुद्धको लडाइमा सामूहिकरुपमा अग्रसर हुने प्रतिवद्धता समेत जनाएका छन् ।
त्यसक्रममा उनीहरुले कोरोना भाइरस परीक्षणको दायरा बढाउन र झापामै पीसीआर परीक्षणको व्यवस्थाका लागि तत्काल आवश्यक सामग्री उपलब्ध गराउन प्रदेश तथा संघीय सरकारलाई माग गरेका छन् । त्यस्तै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तत्काल उपलब्ध गराउन पनि उनीहरुको माग छ।
झापामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेकाले आम झापावासीलाई नआत्तिन र सुरक्षित ढंगले घरमा बसिदिन दलहरुको आग्रह छ । साथै कसैलाई कोरोना भाइरस संक्रमणको शंका लागेमा रोग नलुकाई तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गरिएको छ ।
त्यस्तै झापामा दोस्रो चरणको राहत वितरण गर्दा राहत वितरणका लागि सरकारले जारी गरेको निर्देशिका कार्यान्वयन गर्न,गराउन सबै स्थानीय तहलाई आग्रह गरिएकोछ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापालाई राहत वितरणमा एकरुपता ल्याउने मापदण्ड तयार गरी सबै स्थानीय तहलाई सोको कार्यान्वयनका लागि अनुरोधसहित पठाउन दलहरुले अपिल गरेका छन् ।
भिडीयो कन्फ्रेन्समा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस,समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका प्रमुखहरु सहभागी थिए । सडक (मानव मानसिक सन्तुलन गुमाएका तथा असहाय जो सडकमै रातदिन बिताउँछन् )को तत्काल उचित व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारलाई दलहरुले आग्रह गरेका छन् । उनीहरुलाई खाना, आवास तथा स्वास्थ्यसेवाको प्रबन्ध गर्न माग गरिएको छ ।
बजारमा अहिले उपभोग्य वस्तुको मूल्यबृद्धि तथा कृत्रिम अभाव देखिएको अवस्थालाई मध्यनजर गरी बजार अनुगमनका लागि स्थानीय सरकार तथा सरोकारवालालाई दलका नेताहरुले सुझाव दिएका छन् । साथै भारतसँगका सीमावर्ती नाका, राहत वितरण र धार्मिकस्थलहरु (मस्जिद, गुम्बा, चर्च, मठमन्दिर)को तत्काल अनुगमनका लागि प्रतिबद्ध रहँदै समन्वयका लागि जिल्लास्तरीय सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।
रमजान पर्वको अवसरमा समस्त इस्लाम धर्मावलम्बी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्य दलहरुको तर्फबाट शुभकामना व्यक्त गर्दै यो विषम् परिस्थितिमा घरमै बसेर चाडपर्व मनाइदिन अपिल गरिएको छ । साथै सामाजिक सद्भाव, मेलमिलाप र एकतालाई ध्यान दिन सबै समुदायका नागरिकमा अपिल पनि गरिएको छ ।
त्यस्तै कृषकका मुख्य समस्याहरु तत्काल समाधानका लागि सरकार तथा सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदै समस्या समाधानमा राजनीतिक दलहरुको तर्फबाट पूर्ण साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ । कोरोना भाइरस रोकथाम, उपचार, राहत लगायतका कार्यमा एकरुपता र प्रभावकारिता ल्याउन झापाका सबै पालिकाको संयुक्त बैठकबाट कार्ययोजना बनाइ अघि बढ्न दलका नेताहरुले आग्ह गरेका छन् ।
त्यसैगरी काठमाडौंमा रहेका तर घर फर्कन चाहने झापावासीलाई आवश्यक स्वास्थ्य सुरक्षा सतर्कतासहित सहज रुपमा फर्कने वातावरण र आवश्यक व्यवस्थापनका लागि जिल्लास्थित सबै पालिकालाई दलहरुले आग्रह गरेका छन् । साथै झापामा अलपत्र परेका विभिन्न जिल्लाका वासिन्दालाई समेत आ–आफ्नो घर फर्कने कार्यको व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ ।
भिडियो कन्फ्रेन्समा नेपाल कम्युनिष्ट पार्टी झापा, अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापा सभापति उद्धव थापा, समाजवादी पार्टी नेपाल झापा अध्यक्ष दिपेन वाला राई, राष्ट्रिय जनता पार्टी झापा अध्यक्ष अनुतसिंह राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टी झापा वरिष्ठ उपाध्यक्ष कमलप्रसाद खरेलले आफ्नो धारणा,सुझाव र प्रतिवद्धता राखेका थिए । नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले विषय प्रवेशसहित जिल्लाको अवस्था र अब गर्नु पर्ने कार्यबारे सुझाव पेश गरेका थिए ।