काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । आइजीपी ठाकुर प्रसाद ज्ञवालीले उनीहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरज प्रतापसिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी रहेका छन् । गृह मन्त्रालयले चैत २८ गते दशै जनालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

सोही अवसरमा आइजीपी ज्ञवालीले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति हुनुभएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त गर्ने जिमेवारीहरु एवम् संगठनका नीतिहरु पुरा गर्ने आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रदेश प्रमुखका रुपमा खटिएर प्रहरी अधिकृतहरुले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले संगठनले अंगिकार गरेका नीतिहरु एवम् आफूले प्राप्त गर्ने जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सात डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व
बढुवा गरिएकामध्ये ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ । जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्कीले जिम्मेवारी पाएका छन् भने प्रदेश २ मा धिरजप्रताप सिंहले जिम्मेवारी पाएका छन् । त्यस्तै बाग्मती प्रदेशमा वसन्त लामा पठाइएका छन् भने गण्डकी प्रदेशमा घनश्याम अर्याल र प्रदेश ५ मा रविन्द्र धानुकलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीलाई पठाइएको छ । यता, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई खटाइएको छ ।
थापा यसअघि अपराध अनुसन्धान महाशाखाको जिम्मेवारीमा रहेका थिए । डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ । कार्की प्रदेश नं २ बाट विशेष व्यु्रोमा पुगेका हुन् । डीआईजी हरिबहादुर पाल एआईजीमा बढुवा भएपछि ब्युरोको नेतृत्वमा कार्कीलाई पठाइएको हो ।

Facebook Comments Box