झिलझिले / एक नम्बर प्रदेशमा एकै दिन १२ जनामा कोरोनाको संक्रमण देखिएपछी प्रहरीले उच्च सतर्कता अपनाउन थालेको छ ।
उदयपुरको मस्जिदमा १२ जना कोरोना संक्रमित भएको पाइएपछि शनिवार झापाको पुर्व पश्चिम राजमार्ग चकमन्न छ । बजार पनि सुनसान छन् । कोरोना त्रासका कारण शुक्रबारको तुलनामा लकडाउनको पालना शनिवार अधिक देखिएको प्रहरीले जनाएको छ ।

लकडाउनको अवज्ञा गर्नेलाई दुई घन्टा सम्म सडकमा बनाईएको गोलो घेरामा उभ्याएर चेतावनि दिन थालेपछी अवज्ञा गर्नेको संख्या घटेर आउन थालेको छ । सामान्य कामका लागि पनि घर बाहिर निस्किने सर्वसाधरण यतिवेल घरमै हुन्छन । अत्यावस्यक काम परे स्थानीयले प्रहरीको सहयोग लिन थालेका छन् ।
स्थानीय सरकार र प्रहरी प्रशासनले ठाँउ ठाँउमा माइकिङ्ग गरि लकडाउन अवज्ञा गर्नेलाई पक्राउ गरेर हिरासतमा लिने चेतावनी पनि दिइरहेका बेला झापाको शिवसताक्षीमा भने प्रहरीले कोरोना सचेतना अंकित प्लेकार्ड बनाएर लकडाउनमा घुम्नेहरुलाई सचेत गराइरहेको छ ।
इलाका प्रहरी कार्यलय र ट्राफिक प्रहरी पोष्ट झिलझिलेले संयुक्त रुपमा थालेको यो अभियान अरु अभियान भन्दा फरक भएको बताउछन स्थानीयबासि । शिवसताक्षीका विनोद ढकालले भने, ‘प्लेकार्ड पढ्ने जो कोहिको पनि पनि लकडाउन पालना गर्ने तर्फ मोडिएको छ ।’ सर्वसाधरणलाई यसले सचेत बनाएको उनले बताएका छन् ।
नगरको माईधार, दुधे, झिलझिले, शिवगञ्ज लगायतका बजारमा प्लेकार्ड सहितका प्रहरी परिचालन गरिएको छ । ‘नमिठो भएनी घरकै खाँउ, कोरोना खोज्दै सडकमा नजाँउ ।’ सबै सडकमा आए कोरोना फैलदैन र ? तपाईलाई घर परिवारको माया छैन र ! बाहिर किन ? तपाई घर भित्र बस्नुस् बाहिरी सुरक्षा हामी गर्ने छौ । जस्ता मर्म स्पर्सी प्लेकार्ड झिलझिले प्रहरीले सार्वजनिक गरेको छ ।
