काठमाडौं। नेपाल विद्यार्थी संघले आज आफ्नो ५१औँ स्थापना दिवस डेरामा बसेका विद्यार्थीहरुलाई राहत बाडेर मनाउन लागेको छ। संघको केन्द्रीय, जिल्ला र क्याम्पस इकाई समितिहरुले आ आफ्नो ठाउँमा सक्दो सहयोग गरेर दिवस मनाउन लागिएको महामन्त्री युवराज पाण्डेले जानकारी दिए।

उनले अल्पत्र परेका विद्यार्थीहरुलाई सरकारले सहयोग गर्न वेवास्ता गरिरहेकाले सरकारलाई दवाव दिन र सांकेतीक तथा सन्देशका रुपमा राहत वितरण गर्न लागिएको बताए। त्यस्तै सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने, संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग भिडियो बैठक तथा अन्तरक्रिया पनि गर्न लागिएको उनले बताए।

प्रविधिको प्रयोग गर्दै संस्थापन देखि हालसम्मका अध्यक्षहरुसँग समसामयिक बिषयमा भिडियो मार्फत अन्तक्रिया कार्यक्रम गरिने महामन्त्री पाण्डेले जानकारी दिए।

राहत वितरण, रक्तदान, सचेतनामुलक कार्यक्रम गर्दा स्थानीय प्रशासनसँग समन्वय गरि सामाजिक दुरी कायम गरेर आयोजना गर्न संघले आग्रह गरेको छ ।

विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौंको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो। त्यस समय यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।

Facebook Comments Box