मेची भन्सार कार्यालय झापाका तत्कालीन प्रमुख मनोजकुमार विकसहित पाँच जना विरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
भन्सार अधिकृत विकसहित पाँच जना विरुद्ध ५५ लाख १० हजार पाँच सय ९६ रुपैयाँ ३३ पैसा राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
अधिकृत विक र नायव सुब्बा सनद खतिवडाले पैठारीकर्तासँगको मिलेमतोमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान न्यून भन्सार महसुल र भ्याट निर्धारण गरी राजस्व चुहावट गरेको, पैठारी हुने वस्तुको यथार्थ विवरण नखुलाई सामानको नाम मात्र राखी जाँचपासमा सघाएको आरोप छ ।
त्यस्तै सागर एण्ड साधना विजनेश प्रालि काठमाडौंका सञ्चालकहरु गंगाबहादुर घिमिरे र लिला बहादुर घिमिरे तथा भन्सार एजेन्ट प्रतिनिधि दिपेन्द्रराज पाण्डेविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।