विराटनगर । प्रदेश १ का विभिन्न ठाउँमा सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बसेकाहरूमा कोरोना (कोभिड १९) भए नभएको परीक्षण गर्न सुरु गरिएको छ ।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) का लागि शुक्रबारदेखि प्रदेश १ का पाँच स्थानमा स्वाथ्यकर्मीको टोली खटिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलस्रोत क्वारेन्टाइनमा बसिरहेकाहरूमा कोरोना परीक्षण गर्न स्वाथ्यकर्मीको टोली तत् स्थान पुगेका हुन् ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने, ‘‘प्रदेश राजधानी विराटनगरबाट टोली त्यसतर्फ गई काम सुरु गरेको छ ।’’ मन्त्री घिमिरेका अनुसार ती क्वारेन्टाइनहरूमा दुई दिनसम्म परीक्षणको काम चल्नेछ ।
प्रदेश १ का १४ वटै जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाहरूको टेस्टका लागि आवश्यक सामान किट र स्वास्थ्यकर्मीले लगाउने विशेष किसिमको पोसाक (पीपीई) पठाइएको मन्त्री घिमिरेले जानकारी दिएका छन् ।
यता, विराटनरमा कोरोना रोग भए नभएको परीक्षण गर्न विराटनगरको कोशी अस्पतालमा सञ्चालनमा ल्याइएको ल्याबको मुख्यमन्त्री शेरधन राईले निरीक्षण गरेका छन् । भाइरसका शंकास्पद बिरामीको नमुना परीक्षण गर्न अस्पतालका काठमाडौबाट ६ सय जनाको नमुना परीक्षण गर्न पुग्ने केमिकल बिहीबार विराटनगर ल्याइएको थियो ।
‘‘पहिलो चरणमा ६ सय जनाको नमुना संकलन गर्न पुग्ने केमिकल ल्याइएको छ,’’ वीर अस्पताल काठमाडौंका जेनेटिक साइन्टिस्ट तथा कोरोना परीक्षण विज्ञ बलराम गौतमले भने, ‘‘सरकारलको निर्णयअनुसार संख्या थप हुन सकछ ।’’ मुख्यमन्त्री राईले कोशी अस्पतालको ल्याब काठमाडौं पछिको ठूलो क्षमताको भएको बताए ।
यहाँबाट दैनिक बढीमा २ सय जनासम्मको नमुना संकलन गर्न सकिने राईले जानकारी दिँदै भने, ‘‘भयको स्थिति भएकाले ढुक्क हुन पनि अधिकतम परीक्षण गर्नुपर्ने अवस्था छ ।’’ मुख्यमन्त्री राईले परीक्षणलाई उच्च प्राथमिकतामा राखेर मेसिनहरू सञ्चालन गरिएको सुनाए ।
कोरोना परीक्षणका लागि आवश्यक उपकरण तथा केमिकल्स विहीबार हेलिकप्टरबाट विराटनगर ल्याइएको हो । कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले शुक्रबार साँझदेखि नै परीक्षण सुरु गर्ने तयारी रहेको जनाएकी छन् ।
प्रदेश १ मा विहीबारसम्म सरकारले कुल २ सय ६१ स्थानमा ४ हजार १ सय ४८ क्वारेन्टाइन बेडको व्यवस्थापन गरेको छ ।
आइसोलेसन स्थान ४८ र बेड संख्या ४ सय ३२ नै छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार बिहीबारसम्म क्वरोन्टाईनमा बस्नेको संख्या जम्मा ६ सय २ छ । जसमा ५२ महिला र र ५ सय ५० पुरुष छन् । शुक्रबारसम्म ५ महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८ महिला र १४ पुरुष छन् ।
होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । बिहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको कुल संख्या ३ हजार १ सय ११ छ । महिला ५ सय ८१ र पुरुष २ हजार ५ सय ३० रहेका छन् ।