विष्णुप्रसाद पोखरेल
दमक/ जारी लकडाउनका कारणले समस्यामा परेका दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने निम्न आय भएका वर्गका लागि २०७६ चैत्र महिनाको घर भाडा छुट गर्न दमक नगरपालिकाले घरधनीहरुसंग अनुरोध गरेको छ ।
यसरी घर भाडा छुट गर्ने घरधनीबाट घर भाडाको घरवहाल कर नलिने निर्णय पनि भएको छ ।
नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार अहिलेसम्मको कार्य समिक्षा गर्दै यो निर्णय भएको हो ।
यसलाई घरधनीहरुले आत्मसाथ गर्ने अपेक्षा लिईएको पनि उनले जनाए ।
स्थानीय सरकारको आग्रहलाई घरधनीहरुले पालना गर्नु हुन्छ भन्ने विश्वास छ, उनले भने ।
नगरपालिकाको निर्णयमा भनिएको छ- जारी लकडाउनका कारणले समस्यामा परेका दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने निम्न आय भएका वर्गका लागि २०७६ चैत्र महिनाको घर भाडा छुट गरिदिन सम्बन्धित घरधनीहरुलाई अनुरोध गर्न र यसरी छुट गरिदिएको घर भाडाको नगरपालिकाले वहाल कर नलिने निर्णय भएको छ ।
यसका साथै नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर लागू गरेको लकडाउन आदेशलाई सावधानी र सतर्कतापूर्वक घरमै बसी पालना गर्न, अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न, विदेशबाट आएको व्यक्ति वा परिवारले सोको जानकारी नगरपालिका वा प्रहरीलाई तत्काल गराउन सम्पूर्ण नगरबासीमा अपिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताउनु भयो ।