हुकुमसिंह राई नेपाली कांग्रेस झापाका युवा नेता हुन् । कांग्रेस झापाको जिल्ला सदस्य रहेका राईले स्थानीय तहको निर्वाचनमा वामपन्थीहरुको गढ मानिने कमल गाउँपालिकामा अध्यक्ष पदमा बराबर मत ल्याएर देशभरमै नयाँ रेकर्ड राखे । प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. हरीबहादुर राईका कान्छा छोरा हुकुमसिंह विद्यार्थी कालदेििखनै नेविसंघमा आवद्ध थिए ।
उनी नेविसंघको कार्यवाहक जिल्ला सभापति , पार्टीको लखनपुर गाउँसभापति हुँदै दुई पटक सम्म पार्टी महाधिवेशन प्रतिनिधी भईसकेका व्यक्तित्व हुन् । हाल पार्टीको जिल्ला सदस्यको हैसियतमा रहेका राईले चुनावमा ल्याएको मत परिणामले उनलाई यस क्षेत्रमा सर्वस्विकार्य नेताको रुपमा स्थापित गरेको छ ।
साम्प्रदायिक र दलीय घेराबाट सधैं माथि उठेर साझा नेतृत्व लिनुपर्छ भन्ने राजनीतिक तथा सामाजिक मान्यता राख्ने नेता राई स्थानीय ठाउँमा बजार, खानेपानी, खेलकुद, शैक्षिक र रेडक्रस लगायतका क्षेत्रमा आवद्ध रहेर सामाजिक क्षेत्रमा समेत अलग किसिमको पहिचान छोड्न सफल मानिन्छन् । प्रस्तुत छ नेता राइसंग निष्कर्ष न्यूज डटकमका लागि गरिएको कुराकानीको निष्कर्ष


अहिले स्थानीय तहमा जनप्रतिनिधिहरुको कार्यकालको आधा समय वितेको छ , यस अवधिमा स्थानीय सरकारको कामलाई कसरी मुल्याङकन गर्नुहुन्छ ?
मैंले भन्दा पनि जनप्रतिनिधि अर्थात स्थानीय सरकारका कामको मुल्याङकन गाउँबासीहरुले मुल्याङकन गरेको हुनुपर्ने जस्तो लाग्छ । मैंले मेरो मुल्याङकन सार्वजनिक रुपमा राख्दै गर्दा मलाई मत दिने ति ८ हजार २७५ मतदाता , मेरा सहयोगी शुभेच्छुकहरु तर्फ मैंले फर्किनै पर्छ ।
उहाँहरुसंग मेरो चुनावपछिका भेटघाट र छलफलहरुमा मैंले पाएको कुरा यहाँ राख्नु उचित होला । त्यो के हो ? भन्दा यहाँको विकास निर्माण, यहाँको बर्षौदेखिको जग्गा धनीपूर्जाको समस्या, यहाँको कृषि, व्यवसाय , खेलकुद, स्वास्थ्य, शिक्षा आदि सार्वजनिक सरोकारका बिषयहरुमा जनताले भोग्दै आएको समस्यामा तात्विक भिन्नता छैन । हिजोको भन्दा आज केही फरक हुँदै भएको छैन भन्ने कुरा पनि होइन । त्यस्तो भन्ने अवस्था किन पनि रहँदैन भने यहाँ यो अवधिमा राज्यकोषबाट करोडौं बजेट यो गाउँपालिकामा खर्च भइसकेको छ । बाटोघाटो, पुल पुलेसा यहाँको विकासका नियमित प्रकृया अन्तर्गत भइरहेका हुन् । कमल गाउँपालिकाबासीले फरक के अनुभुति गर्न पाएका छन ? प्रश्न यो हो । त्यसकारण म मेरो कोणबाट हेर्दा कमल गाउँपालिकामा भइरहेका हरेक कामहरुमा भेदभावमुक्त वातावरण देख्दिन । यहाँ बन्दै गरेका दुई ठुला सडक योजनाहरुको कार्यान्वयनको अवस्था हेर्नुस । हरेक कामहरुमा कमिसनको चक्कर छ ।
जनप्रतिनिधिहरुनै विकासे योजनाहरुमा कमिसनको चक्करबाट मुक्त हुन नसक्दा सडक निर्माणको कामले गति लिन सकेको छैन । यहाँका सडकहरु अझै धुलोमुक्त हुन सकेका छैनन् । कृषि क्षेत्रमा व्यवसायिकताका लागि अनुदानका नाममा पार्टी कार्यकर्ताहरुका लागि वितरणमुखी कार्यक्रमहरु चलाएको देखिन्छ । शैक्षिक क्षेत्रमा त्यस्तो कुनै नमुना काम भएको देखिँदैन । जनताका छोराछोरीले ठुलो हिस्सा ओगटेको सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएको देख्दिन । भौतिक पूर्वाधार विकासका नाममा त्यहाँ पनि कमिसनको चक्कर चलेको देखिन्छ । विपन्नहरुको उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रममा विपन्न र लक्षित नागरिकहरुलाई समेट्न सकेको देख्दिन । धेरै कुराहरु छन । एउटा प्रत्यासीले यि सबै यथार्थ कुराहरु राखिरहँदा एकपक्षले पूर्वाग्रही भन्न पनि सक्लान तर वास्तविकता कमलबासीहरुले भोगिरहेका छन । जनताले मलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा राखिरहेको गुनासोका आधारमा मैंले यि कुराहरु भन्नु परेको हो ।
 गाउँपालिकाले एउटा प्रत्यासी जनप्रतिनिधिको हैसियतमा अहिले सम्म तपाइँलाई कुनै कामका सिलसिलामा राय सुझाव वा परामर्श गर्ने काम गरेको छ कि छैन ?
यो कमल गाउँपालिकाको मात्रै नभनौं, हाम्रो पार्टीको नेतृत्वले जिल्लाभर ठाउँ ठाउँबाट लिएको जानकारी अनुसार जिल्लामा कहिं कतैपनि नेकपाले नेतृत्व गरेका स्थानीय तहरुमा नेकपा बाहेकका कुनैपनि दलसंग स्थानीय तहका योजनाहरुको निर्माण, कार्यान्वयन वा कुनै विशेष परिस्थितीमा पनि परामर्श लिने राय, सुझाव लिने वा सहकार्य गर्ने काम भएको छैन । एकाध वडाहरुमा व्यक्तिगत रुपमा कोही कसैंसंग विशेष सम्बन्धका कारण गरिएको व्यक्ति विशेष छलफललाई पार्टीसंगको छलफल वा सहकार्यका रुपमा लिन सकिँदैन । हाम्रो गाउँपालिकाको अवस्था पनि त्यही हो । नेकपाका कार्यकर्तादेखि नेता सम्म निर्वाचन परिणामको दम्भ हटेको छैन । सर्वेसर्वाको भावना उस्तै छ । कर्मचारी नियुक्तीदेखि विकासे योजनाहरुको बाँडफाँड, बजेट कार्यान्वयन लगायतका कामहरु पूर्वाग्रही रुपमा गरिरहेको प्रष्ट देखिन्छ । यो विडम्बना । उहाँहरुको त्यो अहंकार र दम्भको स्वयम उहाँहरुकै तल्लो तहका कार्यकर्ताहरुले पनि महसुस गरेर हामीसंग कुराकानी गरिरहनु भएको छ । मलाई लाग्छ जनता उहाँँहरुको विभेद , पूर्वाग्रही र अंहकारवादी सोचको जवाफ दिने समयको पर्खाइमा मात्रै छन् । म आफैं कमल गाउँपालिकाबासी हुनुका नाताले यहाँ मलाई लाग्छ देशैभरमा नमुना किसिमको सक्रियता हामीले देखाइरहेका छौं । नेकपाका जनप्रतिनिधिमा रहेको मनपरी तन्त्र, भ्रष्टाचार र एकपक्षीय हस्तक्षेपका विरुद्ध कमल गाउँपालिकामा कांग्रेससहितका ६ दलको संयुक्त गठबन्धननै बनाएर खबरदारीमा उत्रिनु परेको छ । हाम्रो खबरदारीको प्रभावले अवश्य पनि गाउँपालिकाले आफ्नो कार्यशैली सच्याउनेछ भन्ने मैंले विश्वास लिएको छु ।
नेपाली कांग्रेसलाई अहिले महाधिवेशनको राप लागिसकेको हो ?
यो स्वभाविक प्रकृया हो , नेपाली कांग्रेस एउटा नियमित प्रकृया अन्तर्गत १४ औं महाधिवेशनको तयारीमा छ । पार्टी पहिलो पटक संघीय संरचना अनुसारको सांगठनिक अधिवेशनको तयारीमा पनि भएकाले सबैको यसप्रति चासो र सक्रियता बढ्नु स्वभाविक हो । पार्टीको आन्तरिक जिवनमा महत्व राख्ने अधिवेशनका क्रममा आफ्ना विचारहरु राख्दै नेताहरु जिल्ला जिल्ला धाउन थालेपछि महाधिवेशनको रापको महसुस भएको होला सायद । त्यो हुन्छ, नेता कार्यकर्ताबीचको सम्बन्ध नजिक्याउने एउटा अवसर पनि हो महाधिवेशन त्यसो भएको हुनाले मैंले यसलाई स्वभाविक रुपमा लिएको छु ।

पार्टीको महाधिवेशनसंग जहिलेपनि जोडिने पार्टी अनुशासन, सांगठनिक चुस्तता जस्ता बिषयलाई नेतृत्वले कुन रुपमा लिएको महसुस गरिरहनु भएको छ ?

पार्टी संगठन भित्र अनुशासनको कुरा महत्वपूर्ण हुन आउँछ । नेपाली कांग्रेसले कयौं पटक निर्वाचनमा सानदार जित हासिल गरेको पनि छ लज्जास्पद हार ब्यहोरेको पनि छ । यो बिषय अहिले यहाँ मैंले किन पनि जोड्न खोजिरहेको छु भने पार्टीले निर्वाचन जित्यो कि हार्यो यो आम चासोको बिषय होला तर हामी र हाम्रो पार्टी भित्र हुनुपर्ने बहस भनेको निर्वाचन जित्यो त के कारण ? र कसरी ? हार्यो त के कारण र कसरी ? यि बिषयमा प्रष्ट हुन जरुरी हुन्छ । कांग्रेस भित्र आन्तरिक कारवाहीको बिषयमा कुरा गर्दा त्यो निर्वाचनका बेलाको भुमिका अर्थात जिम्मेवारीसंग जोडिनुपर्ने हुन्छ । कसले निर्वाचनका बेला पार्टी जिम्मेवारी कसरी पुरा गर्यो कि गरेन ? निर्वाचनमा उसको भुमिका के रह्यो ? यसको सुक्ष्म अनुसन्धान हुन जरुरी छ ।

निर्वाचन लगत्तै घात अन्तर्घातको बिषय चर्को रुपमा उठेको थियो अहिले के भइरहेको जानकारी छ यस बिषयमा ?
पार्टीले केन्द्रमा अनुशासन समिति बनाएको छ । समितिले पार्टी भित्रका गुनासा , उजुरीहरु लिइसकेर छानविन गरिरहेको रिपोर्ट बाहिर आइरहेको छ ।
विस्तृतमा नेता ज्यूहरुलाईनै थाह होला तर बुझ्नु पर्ने कुरा यो हो कि निर्वाचन धेरै ठाउँमा कांग्रेसले हारेको छ तर कहाँ कति मतान्तरले हार्यो, पार्टी संगठनको अवस्था भुमिका के थियो ? कमल गाउँपालिकामा म आफैं उम्मेद्वार भएर निर्वाचन लडेको कुरा सबैलाई थाहा छ त्यहाँको परिणाम पनि थाहा छ ।
मलाई लाग्छ मैंले धेरै कुराहरु भनिरहनु पर्दैन ।

कांग्रेसलाई पुनर्जिवन दिन पार्टी भित्र अनुशासनहिनता र दण्डहिनताको अन्त्य हुुनु पर्छ । सधैं भरी कांग्रेस भइरहने र निर्वाचनको मत खसाल्ने बेलामा पार्टीको विपक्षमा माहोल डाइभर्ट गर्नेहरुको झुण्ड पार्टी भित्र राखेर पार्टी ठुलो बनाउनुको औचित्य हुँदैन ।
पार्टी सानै होस तर बैचारिक स्खलन भएकाहरुको बाहुल्यता नहोस । एकाध तल्लो तहमा कार्यकर्ताहरुले नबुझ्नु भएको होला तर पार्टीको गाउँ÷नगर÷क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतृत्वकै सक्रियता पार्टी हितविपरीत पार्टीका उम्मेदवार हराउनमा हुन्छ भने त्यस्ता तत्वलाई पार्टीले कहिले सम्म संरक्षण गरिराख्ने ? मेरो विचारमा पार्टीलाई बलियो र अनुशासित बनाउन पार्टी भित्र पुरस्कार र दण्ड दुवैको व्यवस्था गर्नुपर्छ त्यसो गर्दा मलाई विश्वास छ पार्टी भित्र जे गर्दा पनि हुने साँढे प्रवृत्तीको अन्त्य हुनेछ । दोषिमाथि कारवाही हुनेछ । सच्चा कार्यकर्ताहरुबाट यस्ता कुरामा खबरदारी हुन आवश्यक छ ।

Facebook Comments Box