काठमाडौं/ सरकारले विदेशमा भिसाको म्याद सकिएपनि नेपालीले नेपाल फर्किन नपाउने स्पष्ट पारेको छ ।
सरकारद्धारा गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यसचिव समेत रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.महेन्द्र श्रेष्ठले भिसा सकिएका नेपालीलाई समेत अप्रिल १२ सम्म नेपाल आउन रोक लगाइएको बताउनु भयो ।
बिहीबार आज नियमित पत्रकार सम्मेलनमा डा.श्रेष्ठले संक्रमित भएका वा बिरामी परेकालाई देशबाट निकाल्न नपाइने विश्व स्वास्थ्य संगठनको सिद्धान्त भएको भन्दै सबैलाई त्यो अवधिसम्म सोही स्थानमा बस्न आग्रह गर्नुभयो । ‘संक्रमित हुनुभएको वा बिरामी पर्नुभएको व्यक्तिलाई कसैले पनि आफ्नो मुलुकबाट बाहिर निकाल्न मिल्दैन । जो जुन देशमा जहाँ हुनुहुन्छ, उहाँ नेपाली नागरिक हुनुहुँदो रहेछ भने पनि उहाँ त्यहीँ उपचारमा रहनुहुन्छ । उपचार भएर स्वाथ्यलाभ गर्नुहुन्छ’ उनले भने । संक्रमित यसमा उपचार लगायत जे गर्नुपर्ने त्यही देशमा गर्नुपर्छ ।