दमक/ लिम्बुवान आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर मारिएका पहिचानवादी आन्दोलनका सहिद मनिल तामाङको १२ औं स्मृति दिवस आज मनाइएको छ ।
स्ववियू निर्वाचन प्रणाली समानुपातिक प्रणालीबाट गर्न माग गर्दै आन्दोलन गर्ने क्रममा २०६५ साल चैत्र ६ गते अर्थात आजकै दिन धुलाबारी क्याम्पसमा मृत्यु भएका तामाङ्कको सम्झनामा शहिद राजकुमार आङ्देम्बे माङ्तोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानले झापाको साविक पृथ्वीनगर ४ हाल भद्रपुर ३ को देउनिया खोला किनारमा अवस्थित तामाङको समाधिस्थलमा पुगेर उनको सम्झना गरेको हो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका संघीय लिम्बुवान मञ्च नेपालका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले धुलाबारी क्याम्पस प्राङ्गणमा तामाङको शालिक निर्माण गर्न पहल गर्ने बताउनु भयो ।

लिम्बुवानका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ् महासचिव शान्ता योङ्हाङ्, उपमहासचिव तथा प्रतिष्ठानका महासचिव दिल कुमार लावती, केन्द्रीय सदस्य किरण लिङ्देन, लिचन थेवे लगायत नेताहरुको उपस्थितिमा समाधीमा बौद्ध धार्मिक परम्परा अनुसार लामा पढाएर शहिद प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
त्यसैगरी आज संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मातहतका प्रान्तीय मञ्चहरु, जिल्ला कार्य समिति, जनवर्गीय संगठन लगायतका समितिहरुर्ले शहिद मनिल तामाङ्को स्मृति दिवस विभिन्न ठाउँमा मनाएका प्रतिष्ठानका महासचिव दिलकुमार लावतीले जानकारी दिनु भयो ।