दमक/ झापाको दमकमा केहि दिन अघि कांग्रेस नगर सभापति रोशन विष्टले नगर सभामा राखेको धारणा र त्यसलगत्तै सञ्चारमाध्यमहरुमार्फत बाहिररिएको समाचार पार्टी नेता कार्यकर्ताहरुमाझ विवादस्पद भइरहेको छ । यो बिषयमा पार्टी भित्र र बाहिर अनौपचारिक बहस चर्किएको छ ।

नगरपालिकाको कार्यसम्पादनको प्रशंसा गरेर प्रतिपक्षी दल कांग्रेस सभापतिले पार्टीलाई सशक्त रुपमा उतार्न नसकेको गुनासो आईरहेका बेला दमकको वडा नं ४ मा भने कांग्रेसको स्थानीय नेतृत्वले वडा कार्यालयमा आज ज्ञापन पत्र बुझाएको छ । वडाको समस्या र विभिन्न समसामयिक बिषयलाई समेटेर कांग्रेसले वडाध्यक्ष कुमार साम्सुहाङलाई ज्ञापन पत्र बुझाएको हो । सो ज्ञापन पत्रमा वडाका कतिपय कामहरु एकात्मक ढंगबाट आपसी छलफल र सहकार्य विनानै अघि बढाइएको भन्दै गुनासो गरिएको छ ।
दमक ४ अन्तर्गत साविकको वडा नं १६ को ब्लकमा रहेको जग्गा समस्याहरुको समाधान गर्नुपर्ने , साविक वडा नं ८ र ९ को सर्पट नापीबाट नाप जाँच भई सकेका जग्गाको धनीपूर्जा वितरण गर्नुपर्ने, शिक्षा क्षेत्रमा भएको एक्लौटी हस्तक्षेपको अन्त्य हुनुपर्ने, विकास निर्माण र मर्मत सम्भारका काम पारदर्शी ढंगबाट गरिनुपर्ने र न्याय सम्पादनको कार्य छिटो छरितो र निष्पक्ष ढंगबाट हुनुपर्ने माग राख्दै कांग्रेसको वडा नेतृत्वले स्थानीय सरकारको ध्यानाकर्षण गराएको कांग्रेसका नगर सहसचिव दिपेश दाहालले जानकारी दिनु भयो । ज्ञापन पत्रमा छाँया समिति संयोजक राजेन्द्र भट्टराई, दमक ४ का पार्टी सभापति पुण्यप्रसाद दाहाल, सहसभापति राजेन्द्र सिटौला र भिमराज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

कांग्रेसका नगर सभापति विष्टद्धारा स्थानीय सरकारका कामको प्रशंसा भएको समाचारको चर्चा सेलाउन नपाउँदै नगर भित्रकै एउटा वडा नेतृत्वबाट स्थानीय तहको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको बिषयले भने स्थानीय सरकारबाट अहिले भईरहेका कामप्रति कांग्रेसको आधिकारिक दृष्टिकोण बुझ्न अन्योल भएको छ ।