दमक/झापाको दमक ५ मा आजदेखि दलित घर धुरी सर्वेक्षण तथा तथ्याङक संकलन शुरु भएको छ । वडा नम्बर ५ को वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच सर्वेक्षण शुभारम्भ गरिएको हो ।

मदानी मिडियाले गर्ने सो सर्वेक्षण तथा तथ्याङक संकलनको ज्येष्ठ वडा सदस्य सूर्य नेपालले शुभारम्भ गर्नुभएको छ । सो अवसरमा दलित महिला वडा सदस्य ख्यामकुमारी परियारले दलित समुदायको लक्षित कार्यक्रमहरु सञ्चालनका लागि घरधुरी सर्वेक्षण तथा तथ्याङक संकलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस अघि दलित समुदायका लागि छनौट गरिएका कार्यक्रमहरु प्रभावकारी हुन नसकेकाले घर घरमा पुगेर वडा भित्रका दलितहरुको घर पारिवारिक अवस्थाको विवरण संकलन गरिने र त्यसैका आधारमा आगामी बर्षका कार्यक्रमहरु छनौट गर्दा प्रभावकारी हुने बताउनु भयो ।

सर्वेक्षणका क्रममा व्यक्तिगत विवरण अन्तर्गत १८ शीर्षकका ३६ र पारिवारक तर्फ ३५ शीर्षकका १०१ गरी कूल ५३ शीर्षकमा १३७ सूचक प्राप्त गरिने वडाले जनाएको छ । तथ्याङक संकलनका लागि सर्वेक्षकहरु वडा भित्र बसोबास गर्ने दलितका धरधुरीमा पुग्ने वडा सचिव भोसकुमार थुलुङले बताउनु भयो । शुभारम्भ कार्यक्रममा वडा सदस्यहरु कृतिका भट्टराई, दुर्गा पौडेल, नगर कार्यपालिका सदस्य टिकाराम बयलकोटी लगायतको उपस्थिती रहेको थियो ।