बिराटनगर/ सुनसरी र मोरङमा सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । आईतवार साँझ पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको ईनरुवा नगरपालिका ६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय ४८ बर्षीया मोनीमाया गिरीको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा रातीनै मृत्यु भएको हो । ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको बेलवारी नगरपालिका ९ मा मोटरसाईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । आईतवार राती साँढे ८ बजेको समयमा बेलवारी ९ नलवारी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बेलवारी नगरपालिका १० का २८ बर्षीय तेज बहादुर धिमालको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
त्यसैगरी ईलामको माङसेबुङ गाउँपालिका ६ नागीका २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैलाई किच्दा घाईते भएका राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जानएको छ ।