दमक/ २०६४ सालको संविधान सभा निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित संविधान सभा सदस्य धर्मराज घिमिरेको भारतको बागडुगुरामा दुर्घटनामा परी आज मृत्यु भएको छ ।
झापा मेचीनगर नगरपालिका १३ घर भएका ७८ बर्षीय घिमिरेको गाडीको ठक्करबाट भारतमा मृत्यु भएको नेपाल प्रहरीलाई जानकारी आएको हो । घिमिरे तत्कालिन नेकपा माओवादीका तर्फबाट संविधान सभामा उम्मेदवार भई विजयी हुनुभएको थियो ।

तस्वीर– लोकतन्त्र पोष्टबाट
उहाँ २०२३ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ नक्खु जेल तोड्ने क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ताको समुहका एक सदस्य हुनुहुन्थ्यो । उहाँ झापा विद्रोहका सहिदहरु मध्ये नेत्र घिमिरेको परिवारका सदस्य पनि हो ।
केही बर्षयता सुस्त मनस्थिती जस्तो देखिने घिमिरे शनिवार देखी हराईरहनु भएको थियो । ईलाका प्रहरी कार्यालय धुलाबारी र काँकडभिट्टामा भारतीय प्रहरीले उहाँको दुर्घटनामा मृत्यु भएको जानकारी गराएका हुन् ।
आज बिहान ३ बजे भारतिय प्रहरीले भारत बागडुग्रा थानादेखि ३ किलोमिटर पुर्व सडकमा घिमिरेलाई गाडीले किचेर मृत्यु भएको अवस्थामा फेला पारेको जानकारी नेपाल प्रहरीमा आएको छ । उहाँँको शवको पहिचान भईसकेकोले आफन्तहरु त्यस तर्फ गएका प्रहरी कार्यालयले जनाएको छ ।