निष्कर्ष न्यूज
दमक/ साता अघि शिवरात्रीको दिन साँझको समय थियो । इलाका प्रहरी कार्यालय दमकमा गोप्य सूचना प्राप्त भयो । एक व्यक्तिले फोन सम्पर्क गरि दमक ५ मंगलदीप मार्गमा पर्ने एक घरमा युवतीहरु राखेर अबैध रुपमा धन्दा चलाईरहेको सूचना दिए ।
त्यही सूचनाका आधारमा प्रहरी सम्भावित घर पत्ता लगाउन त्यस तर्फ पुग्यो । अपराध अनुसन्धानमा दख्खल राख्ने प्रहरी निरिक्षकको कमाण्डमा त्यहाँ पुगेको टोलीले घरको चौथो तलामा ६ जना युवती, एक पुरुष ग्राहकलाई फेला पार्यो । प्रहरीले प्रारम्भिक चरणको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लियो । अनुसन्धानका क्रममा कुनै पनि युवतीसंग परिचय खुल्ने कुनै कागजात फेला पर्न सकेन । आफ्नो ठेगाना कोही हेटौैडा त कोही सिन्धुली बताउँछन् ।
परिचय पुष्टि हुने किसिमका कुनै कागजात छैनन् । युवतीहरुले साथी भेट्न आएको र रमाइलोका लागि खाने पिउने गरेको सुनाए । प्रहरीलाई पर्याप्त आशंका छ युवतीहरुको सो समुह व्यवसायिक रुपमा यौन धन्दामा संलग्न समुह हो । प्रहरीले उनीहरु बसेको होटल जस्तो देखिने ( खान बस्ने ठाउँ भएको कोठा ) भाडामा लिएका दमक ५ का २८/३० बर्षका आशिष श्रेष्ठलाई पनि नियन्त्रणमा लियो ।
श्रेष्ठ बेरोजगार युवतीहरुलाई रोजगारीको प्रलोभन देखाएर अबैध यौनधन्दामा लगाउने कार्यमा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाईरहेको छ । त्यहाँ आधिकारिक रुपमा होटल चलाउने अनुमति कुनै पनि निकायबाट लिएको नदेखिएबाट पनि सो समुह व्यवसायिक यौनधन्दा गर्ने गराउने गिरोह भएको अनुमान प्रहरीको छ ।
होटल त भनेको छ तर आधिकारिक रुपमा त्यहाँ होटल देखिँदैन – घरको सबैभन्दा माथिल्लो चौथो तलामा रहेको अवस्थाका बारेमा सो अनुसन्धानमा खटिएका एक जना प्रहरी अधिकारीले भने ।
युवतीहरुको समुहनै राखेर अबैध यौनधन्दा चलाएको प्रारम्भिक सूचनाका आधारमा पुगेको प्रहरीले सो बिषयमा अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डीएसपी विजयराज पण्डीतले जानकारी दिए । प्रहरीले सो समुहमा भेटिएका युवतीहरु व्यवसायिक रुपमा यौनधन्दामा संलग्न हुने गरेको दाबी गरेको छ ।

Facebook Comments Box