काँकरभिट्टा/एक बालकसहित दुई जना नेपालीको भारतमा रेलले किचेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका—७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र ११ वर्षीय रोहन श्रेष्ठ रहेका छन् । मृत्यु हुने दुवै जना बाबु छोरा भएको बताइएको छ । घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छिन् । उनको शरीरको पछाडीको भागमा गम्भीर चोट छ । उपचारका लागि डम्बरीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए । उनीहरु आफ्न्तसंग भेटघाटका लागि भारतको बाघपुल नजीक मङ्पु पुगेका थिए ।
खेमराजका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको चारजनाको परिवार आफ्न्त भेटघाटका लागि मावली घर टिष्टा पुगेको थियो । विहानको खाना खाएर रेलको लिक नजीकै रुखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जाँदा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ ।
आमा गएको देखेर कान्छो छोरा रोहन पछि पछि कुदेर जादा रेलले भेटेको थियो ।
भारतीय प्रहरीले सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव आफ्न्तलाई बुझाएको छ । मृतक बाबु छोराको शव आज नेपाल ल्याइएको थियो । बाबु छोराको यस्तो घटनाले मेचीनगर— ७ स्थित भान्सा खोला शोकाकुल बनेको छ ।