चितवन/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई प्रधानमन्त्रीले अवज्ञा नगर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
उनले भनेका छन – प्रधानमन्त्रीले पार्टीको सचिवालय बैठकको निर्णय अवज्ञा गर्नुहुन्छ भन्ने कुरा कल्पना पनि गर्न सक्दिन । चितवनमा प्रेस संगठनले आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् ।
उनले भने, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।”
आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय भएको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको भन्दै उनले छ महिनाका लागि राष्ट्रियसभामा नगएर डा युवराज खतिवडा अर्थमन्त्री हुनसक्ने बताए । संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको सर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो ।
उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।
प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण रहेको अध्यक्ष दाहालले तर्क गरे । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया भएको उनले टिप्पणी गरे ।