काठमाडौं / नेपाली कांग्रेसको केन्द्रिय समितिले निर्धारण गरेको कार्यतालिका अनुसार यतिबेला क्रियाशील सदस्यता अद्यावधिक हुनुपर्ने हो तर स्थानीय तहमा नेपाली कांग्रेसको पार्टी संगठन पुनःसंरचनाको कामनै सकिएको छैन ।
बारम्बारको निर्देशनलाई पार्टीका जिल्ला, क्षेत्र र स्थानीय तहका नेतृत्वले नटेरेपछि निर्वाचन समितिले क्रियाशील सदस्यहरूको नामावली अद्यावधिक गर्न नसकेको हो । पुनसंरचनाको काम देशका ३५ जिल्लामा पुरा भएको विवरण केन्द्रमा आएको छ । अन्य ३० जिल्लामा पुनःसंरचनाको काम लगभग पूरा भएको भनिएपनि विवरण आईसकेको छैन । ६ जिल्लामा भने समायोजननै हुन नसकेको बताइएको छ । कांग्रेसका निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीका अनुसार ३५ जिल्लाको मात्र सम्पूर्ण विवरण केन्द्रमा आएको छ ।
अधिकारकीका अनुसार ‘अहिलेसम्म ३५ वटाको पूर्ण विवरण आइसकेको छ । ३६ जिल्लाको समायोजन करिब करिब टुंगिएको छ । ६ जिल्लाको कुनै पनि विवरण आएको छैन ।
समायोजन सकिएका जिल्लाहरुको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको काम शुक्रबार ( भोली) सुरु गरिँदैछ ।
समायोजन सकिएका प्रदेश एकका झापा, इलाम, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम ओखलढुंगा र उदयपुरका क्रियाशील सदस्यहरुको नामावली अद्यावधिक हुनेछ ।
यस्तै बागमती प्रदेशका दोलखा, सिन्धुली, भक्तपुर, ललितपुर र चितवनमा पनि शुक्रबारबाट क्रियाशील सदस्यताको काम कारबाही सुरु हुनेछ ।
गण्डकी प्रदेशका कास्की गोरखा, तनहुँ, मनाङ, पर्वत र लमजुङबाट सबै विवरण प्राप्त भएको छ ।
प्रदेश पाँचमा पाल्पा, अर्घाखाँची र कपिलवस्तुको समायोजन सकिएको छ । यस्तै कर्णाली प्रदेशमा रोल्पा, रूकुम (पश्चिम), हुम्ला, मुगु, कालीकोट र जाजरकोटमा पनि समायोजन सकिएको छ । यस्तै सुदूपश्चिम प्रदेशमा कैलाली, बाजुरा, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुर जिल्लाले पनि समायोजन टुंग्याएका छन् ।
१३ औँ महाधिवेशनको समयमा अद्यावधिक गरिएको क्रियाशील सदस्य र क्षेत्रीय प्रतिनिधिको नामावली पनि पठाएका छन् ।
होला त आउँदो बर्ष फागुनमा महाधिवेशन ?
काँग्रेसले अर्काे वर्ष फागुन ७ देखि १० गतेभित्र पार्टीको महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । स्थानीय तह संगठन पुनःसंरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ अनुसार सहमतिबाट संरचना बनाउने व्यवस्था काँग्रेसमा छ ।
गत साउन २६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले कात्तिकभित्र संघीयताअनुसार स्थानीय तहमा पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्ने निर्णय गरेको थियो ।
त्यसपछि मंसिर–पुस हुँदै महाधिवेशन कार्यतालिका अनुसार माघभित्र समायोजन टुंग्याउने निर्णय भएको थियो ।
फागुन–चैतमा साधारण र क्रियाशील सदस्यता वितरण गर्ने कार्यतालिका अनुसार माघमा समायोजन नसकिएपछि निर्णय परिमार्जन गरिएको थियो ।
त्यसपछि गत बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकबाट फागुन १५ गतेभित्र समायोजनका सबै काम सम्पन्न गरिसक्ने गरी केन्द्रीय कार्यालयले निर्वाचन समितिसँग सहजीकरण गर्न भनेको थियो ।
काँग्रेसका विगतका ७५ जिल्ला कार्यसमितिलाई ७७, २ सय ४० क्षेत्रीय कार्यसमितिलाई १ सय ६५ संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, ३ हजार ९ सय स्थानीय तह (गाउँ/नगर) कार्यसमितिलाई समायोजन गरी ७ सय ५३ गाउँ÷नगर कार्यसमिति निर्माण गर्नुपरेको थियो ।
मंसिरमा सक्नुपर्ने समायोजनको काम चैत लाग्नैलाग्दा समेत पूरा नभएपछि तोकिएको मितिमा महाधिवेशन हुनेमा शंका बढाएको देखिन्छ ।
पार्टीले पछिल्लो पटक फागुन १५ गतेभित्र समायोजन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएको थियो ।
संयोजक राधेश्यामले यतिबेला केन्द्रीय कार्यालयमार्फत हरेक जिल्ला कार्यसमितिलाई समायोजनको प्रतिवेदन माग गरे पनि जिल्ला कार्य समितिहरुले अटेर गरेका बताइएको छ ।
२९ माघको काँग्रेसको केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको थियो ।
क्रियाशील ७ लाख पुग्ने
प्रत्येका वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने काँग्रेसको उक्त निर्णयले १३ औँ महाधिवेशनमा क्रियाशील सदस्यता संख्या करिब ४ लाख ९० हजारको हाराहारीमा रहेकोमा आगामी १४ औँ महाधिवेशनमा क्रियाशील सदस्यता संख्या बढेर करिब साढे ७ लाखको पुग्ने देखिएको छ ।
गाउँ वडा र नगर वडा अधिवेशनमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि चुनेर पठाउँछन् । क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका प्रतिनिधि चुन्छन् ।
काँग्रेसले महाधिवेशन गर्न नसकेको विशेष कारण देखाएर एक वर्षको कार्यकाल बढाएको छ । त्यस अतिरिक्त थप ६ महिना बढाउन सकिने सुविधा संविधानले दिएको छ ।