दमक/ झापाको गौरादह ९ बैगुन्धुरास्थित एक जना निर्वाचित वडा सदस्य दिनेश पोखरेलको घरमा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले नगद ९१ हजार र कौडासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय विद्यालयका दुई जना प्रधानाध्यापक तथा शिक्षक नेतादेखि पार्टी नेता सम्म छन् । सो समयमा वडा सदस्य पोखरेल भने घरमा नभएको बताइएको छ ।
स्थानीय अमर माविका प्रधानाध्यापक गोपाल पोखरेल, लेखनाथ आधारभुत विद्यालयका प्रधानाध्यापक राम बहादुर ढुंगाना, तत्कालिन नेकपा एमालेका बैगुनधुरा अध्यक्ष नेत्र पोखरेल, ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, महेश निरौला, रोहित बस्नेत, र गोपाल ढकाल रहेका छन् । उनीहरुलाई पूर्व पश्चीम राजमार्गबाट करिब २१ किलोमिटर दक्षिण दुरीमा रहेको गाउँमा पर्ने पोखरेलको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये प्रधानाध्यापक ढुंगाना नेपाली कांग्रेस निकट शिक्षक संघका नेता भएको बताइएको छ ।
पक्राउ परेका सवैलाई जुवा ऐन अन्तर्गत कारवाही हुने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिनु भयो । उनीहरुलाई ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले गएराती पक्राउ गरेको हो । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका समेत उच्च तहमा पहुँच राख्ने स्थानीय नेता भएका कारण उनीहरुलाई राजनीतिक तथा प्रशासनिक संरक्षण रहेको आरोप लाग्दै आएको थियो ।
घट्नास्थलमा पुगेका प्रहरी निरिक्षक ठाकुरसंग पक्राउ परेका प्रधानाध्यापक पोखरेलले जुवा खालमा भएको रकम लगेर छाडिदिन प्रस्ताव गरे पनि निरिक्षक ठाकुरले त्यस्तो प्रस्ताव ठाडै अस्वीकार गरिदिएको प्रहरी स्रोतको दाबी छ । प्रहरीले सो समुहलाई घुस खुवाउन खोजेको अभियोगमा पनि मुद्धा चलाउन सक्ने प्रमाण सुरक्षित रहेको बताइएको छ ।
प्रहरी उच्च श्रोतका अनुसार बिहीबार राती करिव साढे १० बजे स्थानीयले प्रहरीलाई जुवा खेलिरहेको गोप्य सुचना दिएका थिए । यस अघि गएको दशैं तिहारमा पनि सो क्षेत्रमा ठुलो गिरोहले व्यवसायिक रुपमा जुवा खाल सञ्चालन गरेको सूचना स्थानीयहरुबाट प्राप्त भएको थियो । सो सूचनापछि सो ठाउँमा पुगेको प्रहरीलाई झुक्याएर एकाएक जुवा खेल स्थगित भएपछि प्रहरी रित्तो हात फर्किएको थियो ।