काठमाडौं/सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सो कुराको पुष्टि गरेका हुन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सन्चारमन्त्रीको राजीनामा बारे जानकारी गराएका हुन् ।
त्यसअघि, प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले यस प्रकरणलाई लिएर संसद बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले मन्त्री बाँस्कोटले ७० करोड रुपैयाँ घुस मागेको प्रकरणमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरेको हो ।
कांग्रेस बैठक चल्न नदिने अडान राखेपछि सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी सदनलाई गराएका हुन् ।
सामाजिक सञ्जालहरुमा र विभिन्न सञ्चार माध्यमहरु मार्फत नागरिकहरुले भने सरकारको प्रवक्ताको हैसियतमा रहेका मन्त्रीले कमिसनका लागि गरेको डिलिङ सिंगो सरकारको तर्फबाट भएको डिलिङका रुपमा लिन सकिने भन्दै उनीमाथी कानुनी कारवाहीको माग समेत गर्न थालेका छन् । मन्त्री बाँस्कोटाको अडियो रेकर्डमा कर्मचारीलाई अपशब्द बोलेर अपमान गरेका कारण सो बिषयमा पनि कारवाहि हुनुपर्ने माग छ ।