गौरीगञ्ज/हुलाकी मार्ग निर्माणको क्रममा सडक आसपासमा खानेपानीको पाइप भत्किएपछि गौरीगञ्ज गाउँपालिका वडा नं ३ का बासिन्दाले निर्माण कार्यमा अवरोध गरेका छन् ।

वडा नं. ३ स्थित गौरीगञ्ज बहुमुखी क्याम्पस आसपासका स्थानीयहरुले हुलाकी सडक निर्माणको क्रममा सडक छेउछाउका भौतिक संरचना हटाउने क्रममा खानेपानीको पाईप फुटाएको भन्दै आज सांकेतिक विरोध स्वरुप सडकमा ढाट तेस्र्याएर सांकेतिक विरोध गरेका हुन् । गौरीगञ्ज गाउँपालिका वडा नं. ३ हुलाकी सडक अन्तर्गत पेट्रोल पम्प पुर्वको क्षेत्रमा खानेपानीको आपूर्ति हुन नसकेपछि उपभोक्ताहरू करिब १५ दिन देखि पानी पिउनबाट बञ्चित छन् ।
त्यसैगरी हुलाकी सडक विस्तार गर्ने क्रममा बाटो धुलाम्मे भई स्कुले बालबालिकाहरूको साथै मानव स्वास्थ्यमा असर परिरहेकोले समयमै बाटोमा पानी हाल्ने व्यवस्था मिलाउनु पर्ने स्थानीयको माग छ ।
गाउँपालिकाले दैनिक एक पटक त्यहाँ पानी हाल्ने व्यवस्था मिलाएपनि कम्तीमा २ पटक पानी हाल्ने व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ ।
सडक छेउछाउका विजुली, खानेपानी, टेलीफोन तार लगायतका आधारभुत मानविय आवश्यकताको व्यवस्थापन नगरी बाटो विस्तार गर्दा समस्या आएको हो । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले हुलाकी सडक निर्माण गर्ने क्रममा विजुलीका पोलहरू ३० मिटर भित्र परे त्यसको व्यवस्थापन हुलाकी आयोजनाले लिने सहमति भएको बताउनु भयो ।
विजुलीको पोलसहित खानेपानीको पाइपहरू सार्दा र मर्मत गर्दा लाग्ने खर्चको इस्टिमेट सहित हुलाकी आयोजनालाई बुझाईएको र त्यसको सम्पुर्ण व्यवस्थापन गर्नु पर्ने विषयमा कुराकानी भईरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो

Facebook Comments Box