दमक/फागुन महिनाभित्र हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चितका लागि सरेको छ । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा गर्ने सो चुनाव त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि सारिएको हो ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरका अनुसार नयाँ सूचना सार्वजनिक नहुँदासम्मका लागि अनिश्चित कालका लागि चुनाव स्थगित भएको हो ।
यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्म मात्र थप गरिएको छ ।
२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविमा ६२ वटा आंगिक तथा एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । आंगिकमध्ये केहि क्याम्पसमा २०७३ सालमा पनि चुनाव भएको थिएन । सम्बन्धन प्राप्तमध्ये पचास प्रतिशतभन्दा बढी क्याम्पसमा चुनाव भएको छैन ।