दमक/ दमक ८ स्थित सरकारी स्वामित्वको ऐलानी जग्गा रेवतराज पुरी गगन र उनको परिवारका नाममा कायम गराउन सहयोग गरेको अभियोगमा दमकस्थित नापी कार्यालयका पूर्व कर्मचारी दमक १ का डिल्ली सुब्बा पक्राउ परेका छन् ।

उनी विरुद्ध सो अभियोगमा प्रहरीले मुद्धा दर्ता गरेको थियो । गत बिहिबार नियन्त्रणमा लिइएका सुब्बालाई इलाका प्रहरी कार्यालय दमकले हिजो शुक्रबारनै अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थपको आदेश लिएको छ । यस अघि त्यहाँको जग्गा पथरीका ओम प्रकाश पौडेलको नाममा दर्ता गराउन पनि पुरीले नाइकेको भुमिका निर्वाह गरेको आरोप छ । अहिले सुब्बामाथि भने सरकारी जग्गा पुरीकै नाममा दर्ता गराउन भुमिका खेलेको अभियोग लागेको हो ।
त्यस प्रकरणका मुख्य आरोपी नेकपा नेता रेवतराज पुरी गगन भने लगभग २ महिनादेखि फरार छन् । यस अघि पौडेलका नाममा जग्गा दर्ता गराउन भुमिका खेलेको आरोपमा मालपोत , नापी र दमक नगरपालिकाका कर्मचारीसहित पथरीका पौडेल अदालतले तोकेको धरौटी वापतको रकम बुझाएर रिहा भइसकेका छन् ।
यद्यपी अनुसन्धाननै सकिएको भने होइन । प्रहरीले त्यहाँको सरकारी जग्गा घोटाला सम्बन्धिको अनुसन्धानकै क्रममा सुब्बासहित थप ११ जना विरुद्ध मुद्धा दर्ता गरेको स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डीतले भने लिम्बु पक्राउ परेको पुष्टि गर्दै सो प्रकरणमा जोडिएका व्यक्तिका उजुरीहरुमाथि पनि छानविन शुरु भएको संकेत गर्नुभयो ।
उजुरी कस कसका विरुद्धमा कसले गरेको छ भन्ने बिषय सार्वजनिक गर्न मिल्दैन,तर यो प्रकरणमा जोडिएका अन्य मुद्धाहरु र ति मुद्धाका आरोपितहरु पनि अनुसन्धानको दायरामा छन– उहाँले भन्नु भयो ।

Facebook Comments Box