दमक/ दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको पञ्चावटी एकाडेमीमा अध्ययनरत सय बढी विद्यार्थीलाई शुक्रबार लागुऔषध विरुद्ध जानकारीमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

दमक ३ को वडा कार्यालयले मदानी मिडिया र इलाका प्रहरी कार्यालय दमक सामुदायिक प्रहरी सेवा केन्द्रसंगको सहकार्यमा विद्यालयमै एक कार्यक्रम गरि त्यस्तो प्रशिक्षण चलाएको हो ।
दमक ३ का वडाध्यक्ष नविन बरालको अध्यक्षता र नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपप्रमुख अधिकारीले बालबालिकाहरु लागुऔषधको दलदलमा फस्न सक्ने अवस्थाका बारेमा अभिभावकहरु चनाखो हुनुपर्ने बताउनु भयोे । उहाँले नगरपालिकाले महिला तथा बालबालिकाहरुका लागि सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा समेत जानकारी गराउँदै बालबालिकाहरु सुरक्षित हुनु आवश्यक भएको बताउनु भयो । सो अवसरमा हेप्पी नेपालका कार्यक्रम अधिकृत प्रभात वाँस्तोला र डीआइसी इञ्चार्ज जीवन नेपाली, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मौसम उदास र पूर्व निरिक्षक एवम सामुदायिक प्रहरी सेवा केन्द्र दमकका सचिव मोहन बोगटीले लागुऔषधका कारण मानिसको स्वास्थ्य र समुदायमा पर्ने असर, रोकथामका उपायहरु , विद्यमान कानुनी व्यवस्था लगायतका बिषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।


वडा सदस्य गजेन्द्र धिमालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पूर्ण गुरुङ, भुटानी शरणार्थी महिला मञ्चकी सचिव सृजना तिवारी लगायतले पनि लागुऔषधको जोखिममा पर्नै नहुने र परिसकेको अवस्थामा कसरी उपचारमा जाने भन्ने बिषयमा जानकारी आदनप्रदान हुनु आवश्यक रहेकोमा जोड दिएका थिए । वडा कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्यस किसिमका कार्यक्रम यस अघि ढुकुरपानी माविमा सञ्चालन गरेको थियो भने यसै साता चुलाचुली आधारभुत विद्यालय र जनज्योती आधारभुत विद्यालयका बालबालिकालाई समेत प्रदान गरिने वडा सचिव सन्दिप सुवेदीले जानकारी दिनु भयो ।

Facebook Comments Box