काठमाडौं / नेपाल विद्यार्थी संघ (नेविसंघ)मा लामो समयदेखि रहेको नेतृत्व विवाद टुंगिएको छ । संघको केन्द्रिय तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् ।
नेपाली काँग्रेसले विज्ञप्तिमार्फत अध्यक्षमा ढुंगानासहित दुई महामन्त्रीपनि चयन गरेको सार्वजनिक गरेको हो । महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेको हो । 
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाले गर्नुभएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
निवर्तमान अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि लामो समय नेविसंघ नेतृत्वविहीन भएको थियो । नेविसंघमा लामो समयदेखि ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भनेर विवाद थियो । २०७५ असोज २१ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेरहदसहित नेविसंघको विधान पारित गरेको थियो ।
विधान पारित भइसकेर पनि तदर्थ समिति बनाउँदा ३२ माथिबाटै आउनुपर्ने केही नेताको अडान कायमै थियो । केही नेताहरुले भने ३२ वर्ष मुनिबाट तदर्थ समिति आउनुपर्ने अडान राखेतापनि पनि त्यसलाई लत्याउँदैं नेविसंघको तदर्थ समिति अध्यक्षमा ४० दशकमा हिडिरहेका ढुंगाना चयन भएका छन् ।
३२ वर्ष मुनिको समिति आउनुपर्ने माग गर्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी नेता नवराज त्रिपाठी आमरण अनशनमा बसिरहेका छन् ।