काठमाडौं/सत्तापक्षीय र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच शनिबार बिहान भएको छलफल समसामयिक राजनीतिक परिस्थितीमा कसरी अघि बढ्ने भन्ने बिषयमा केन्द्रित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक बिषयमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफललमा नेताबीच राज्य सञ्चालनका सन्दर्भमा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनु भयो ।
उहाँले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गर्न इच्छा राखे अनुसार सकारात्मक ढंगबाट छलफल भई सहमतिका साथ अघि बढ्ने सहमति भएको बताउनु भयो ।
‘राज्य सन्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ । त्यही साझा सहमति खोज्न छलफल भएको हो’–उहाँले भन्नु भयो –‘संसद सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’