दमक/ झापाको दमकमा हिजोदेखि विर्ता ज्योती आई केयर प्रालिले सञ्चालनमा ल्याएको आँखा अस्पतालमा दुई दिनमा झण्डै ३ सय जनाले आँखा परीक्षणको सेवा लिएका छन् । अस्पतालले आँखाको परीक्षण निशुल्क र अन्य सेवाहरुमा २० प्रतिशत छुटको व्यवस्था गरेको कारण सर्वसाधारणहरु आँखा अस्पतालमा सेवा लिन उल्लेख्य संख्यामा पुगेका हुन् । आँखा जाँच गराएका मध्ये हिजो मात्रै ६ जनामा मोतिया विन्दुको समस्या देखिएकाले एक साता भित्र शल्यक्रियाको व्यवस्था मिलाइने सञ्चालक समेत रहनु भएका नेत्र अधिकृत विनोद दाहालले जानकारी दिनु भयो ।


दमक ५ स्थित बेलडाँगी रोडमा विर्तामोडस्थित विर्तामोड आँखा अस्पतालका चिकित्सकहरुको समेत करिब डेढ करोडको लगानीमा आँखा अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालक समेत रहनु भएका नेत्र अधिकृत मोति बरालका अनुसार सञ्चालक समितिको अध्यक्षमा डा. राजेश प्रधान रहनु भएको छ ।

उहाँसहित ३ जना नेत्र रोग विशेषज्ञसहित २ जना नेत्र अधिकृत, २ जना दृष्टि विशेषज्ञ, १ जना नेत्र सहायकसहित १९ जना सो अस्पतालमा कार्यरत रहेको जानकारी गराउनु भयो । अस्पताल उद्घाटनका अवसरमा माघ १० गते सम्म ओपिडी सेवा निशुल्क र शल्यक्रिया लगायतका अन्य सेवामा २० प्रतिशत सम्म छुट दिईने जनाइएको छ ।
दमकमा भरपर्दो आँखा अस्पताल नभएको हुँदा अत्याधुनिक उपकरणहरुसहित सुविधा सम्पन्न अस्पताल खोलिएपछि सर्वसाधारणहरु टाढा जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । दमक ९ का मोहन पौडेलले सधैं आँखा परीक्षणका लागि विर्तामोड सम्म जाने आउने खर्चले यस पटक दमकमै उपचार गराउन सकेको बताउनु भयो ।

Facebook Comments Box