दुधे/ झापाको शिवसताक्षीस्थित दुधेका युवाहरुले हालै सम्पन्न गरेको शित कन्सर्ट कार्यक्रममा संकलन भएको रकमबाट सामुदायिक विद्यालयका ८५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरेका छन् ।

“गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि सहयोगार्थ” दूधे युथ क्लबको सहकार्यमा सो क्षेत्रका युवाहरुले मेरो इन्टरटेन्टमेन्ट नामक संस्थाले गत पौष २५ गते “शितकन्सर्ट” सम्पन्न गरेको थियो ।
सो कार्यक्रम भएको खर्च कटौती गरी दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविका कक्षा १ देखि ५ सम्मका ८५ बढी विद्यार्थीहरुलाई कापी, कलम र चक्लेट वितरण गरिएको हो ।
त्यसैगरी कक्षा ६ देखि १० सम्मका गरीब तथाजहेन्दार ११ जना छात्रछात्रालाई स्कुल ब्याग साथै २ जनालाई १ हजार २ सयका दरले नगद, त्यस्तै कक्षा ७ का २ जनालाई संयुक्त ३ हजार, कक्षा ८ का २ जनालाई ४ हजार, कक्षा ९ का २ जनालाई ४ हजार २ सय र कक्षा १० का ३ जनालाई २ हजार ५ सयका दरले ७ हजार ५ सय गरी कूल नगद २१ हजार १ सय वितरण रुपैयाँ प्रदान गरिएको आयोजक समितिका सदस्य पूर्ण सुब्बाले जानकारी दिनु भयो । उहाँका अनुसार नगद र जिन्सी गरी ३५ हजार बराबरको सहयोग गरिएको छ ।
कार्यक्रममा स्थानीय सामाजिक कार्यकर्ता सन्तोष गुरुङ्ग तथा विद्यालयका प्रअ कालीप्रसाद रिजाल, मेरो इन्टरटेन्टमेन्टका शक्तिमान लिम्बु, अशोक राई, तपन गुरुङ्ग, पूर्ण लिम्बु, रुपेश लिम्बु, सागर राई, विशाल राई, प्रज्वल गुरुङ्ग, प्रयास खतिवडा लगायत विद्यालयका शिक्षकहरु सहभागि हुनुहुन्थ्यो । त्यसैगरी सो टीमले शिवसताक्षी ९ दूधेकै सतासी प्राविमा नगद र जिन्सी गरी २० हजार बराबरको सहयोग गर्ने जानकारी दिएको छ ।
यसैबीच सोही कार्यक्रममा सो विद्यालयका गरिब तथा विपन्न विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिका शिक्षा तथा खेलकुद शाखाले १ सय ५४ थान न्यायो स्वीटर वितरण गरेको थियो ।