नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री नविन्द्रराज जोशीले लोकतान्त्रिक चरित्रनै कांग्रेसको पहिचान भएको बताउनु भएको छ ।
पार्टीको १४ औं महाधिवेशनको मिति टुंगो लागेसंगै भईरहेको गुटगत बहसलाई लक्षित गर्दै नेता जोशीले लोकतान्त्रिक पार्टी हुनुका नाताले कांग्रेस भित्र बैचारिक बहस र छलफल हुनुलाई स्वभाविक रुपमा लिइनु पर्ने जिकिर पनि गर्नुभयो ।

झापाको कमल गाउँपालिका वडा नं ५ पाडाजुँगीमा आज बिहिबार आयोजित कार्यकर्ताहरुसंगको अनौपचारिक भेटघाट तथा छलफलमा उहाँले त्यस्तो बताउनु भएको हो । नेता जोशीले अहिले सरकार संस्थागत रुपमा नै भ्रष्टाचारमा लागेको र सत्तारुढ नेकपाले संस्थागत भ्रष्टाचार गरेर अर्को निर्वाचनमा भोट किन्ने पैसाको जोहो गरिरहेकाले गाउँ गाउँबाट त्यसको भण्डाफोर गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । उहाँले लोकतन्त्रमा जनताको अधिकार सुरक्षित हुनुपर्ने र अधिकारका लागि जनतालाई सचेत गराउनुपर्ने हुँदा त्यसको पहिलो जिम्मेवारी कांग्रेसको भएको बताउनु भयो ।


कांग्रेसकै नेतृत्वमा अन्य प्रतिपक्षी दलहरु समेतलाई लिएर गाउँ गाउँबाट कम्युनिष्ट सरकारको अधिनायकवादी कृयाकलाप र भ्रष्टाचारको विरोध गर्ने अभियान चलाउनुपर्ने अवस्था आएको भन्दै झापाको कमल गाउँपालिकामा कांग्रेसको नेतृत्वमा भईरहेको त्यस्तो अभियानलाई पार्टीले मोडल ( नमुना) को रुपमा लिएको पनि उल्लेख गर्नुभयो । सो अवसरमा कांग्रेस कमल गाउँ सभापति खगेन्द्र भण्डारीले कमल गाउँपालिकामा कांग्रेस प्रतिपक्षीदलहरुको मोर्चाबन्दी बनाएर कम्युनिष्टहरुले गरेका भ्रष्टाचार, स्थानीय सरकारले गरिरहेका अनियमितता र ढिलासुस्ती, सार्वजनिक जग्गा अतिक्रमण लगायतका बिषयमा साझा धारणासहित खबरदारीमा रहेको जानकारी गराउनु भएको थियो । कमल गाउँ सहसभापति राजकुमार न्यौपानेले नेता जोशी कार्यकर्ताहरुसंगको भेटघाट र छलफलका क्रममा झापा आउँदा आकस्मिक रुपमा कमल गाउँ समितिले पनि स्वागत गदैै अनौपचारिक भेटघाटको आयोजना गरिएको जानकारी गराउनु भएको थियो ।

Facebook Comments Box