काठमाडौं/बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणका एक आरोपित शोभाकान्त ढकालको घरमा भएको बम विस्फोटको जिम्मा सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द‘विप्लव’ समूहको नेकपाले लिएको छ ।
ढकालको काठमाडौंको ढुंगेधारा सानो भर्याङस्थित घरमा बुधबार साँझ बम विस्फोट भएको थियो । विष्फोटबाट पार्किङमा राखिएको गाडीमा क्षति पुग्नुका साथै घरको झ्यालका सीसाहरु फुटेका छन् । वरपरका घरहरुका झ्यालमा समेत क्षति पुगेको छ । तर मानवीय क्षति भने भएको छैन ।


विष्फोट आसपास फेला परेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको पर्चामा बालुवाटार जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख गरिएको छ । पर्चामा ’शोभाकान्त ढकाल ललिता निवासको सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने प्रपन्चका मुख्य योजनाकार भएकाले उनको घरमा वम विस्फोट गराएको’ उल्लेख छ । कुकरभित्र फलामको किला राखेर बम बनाइएकाले बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ । विप्लव समूहले छरेको पर्चामा उक्त जग्गा कब्जा गरिएको उल्लेख छ ।

Facebook Comments Box