विराटनगर/कांग्रेस भित्र गुटबन्दी बढेपछि प्रदेश १ मा कांग्रेस केन्द्रिय सदस्य तथा आसन्न १४ महाधिवेशनमा सभापतिका दाबेदार मानिएका नेता डा. शेखर कोइरालाले आफू निकटका नेता कार्यकर्ताहरुसंगको भेटघाट र छलफल बढाएका छन् ।
केही दिन अघि मात्रै झापाबाट गएको टोलीसंग अन्तरंग छलफल गरेका कोइरालाले पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुसँग पनि छुट्टै छलफल गरेका हु्न् ।
समसामयीक राजनीतिक परिस्थिति र राष्ट्रिय सभाको निर्वाचनको सेरोफेरोमा रहेर उनले जन प्रतिनिधिहरुसँग मंगलबार कोइराला निवासमा छलफल गरेका हुन । छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए ।

कोइरालाले सरकारको गतिविधि अधिनायकवाद तर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताए । प्रमुख उपप्रमुखहरु कांग्रेसको टिकट पाएर विजयी भएको र अहिलेको समस्यालाई पार लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए ।
छलफलमा भेला भएका प्रमुखहरुले पार्टीमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।उनीहरुले कांग्रेस विजयी भएका स्थानीय तहहरुमा समेत काम गर्न कठिनाई भएको गुनासो गरेका थिए ।