काठमाडौं/नेपाली काँग्रेसको संस्थापन (सभापति शेरबहादुर देउवा पक्ष) पार्टी संगठनको मर्म , भावना विपरित अघि बढेको भन्दै असन्तुष्ट बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितले आफू निकटका केन्द्रिय नेता तथा जिल्ला सभापतिहरुको भेला गरेका छन् ।


पार्टीका बिषयमा आफूनिकटका जिल्ला सभापतिसँग पराशर्म गर्न भन्दै सोमबार आयोजना गरिएको भेलामा संस्थापन ( देउवा)इतरको समूहमा ७७ मध्ये ४३ जिल्लाका जिल्ला सभापतिहरु एकठाउँ उभिएका छन् । पार्टी कार्यालय सानेपामा भएको भेलामा पौडेलसहित महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी गगन थापा, नविन्द्रराज जोशी लगायत केन्द्रिय नेताहरु सहभागि भएका बताइएको छ । सो भेलामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइराला भने उपस्थित नभएका बताइएको छ । भेलामा कांग्रेसका जिल्ला सभापतिहरु मध्ये झापाका उद्धव थापा, कास्की सभापति कृष्ण केसी, बर्दियाका सभापति सञ्जय गौतम, धादिङका सभापति रमेश धमला, रोप्पाका सभापति अम्मरसिंह पुन लगायतले धारणा राखेका छन् ।
के भने पौडेल र कोइरालाले ?
बैठकको सुरुमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो विवादबारे फेहेरिस्त सुनाएका थिए । उनले मंसिर २६ गतेदेखि पुस ११ गतेसम्म भएको छलफल र सहमतिको प्रयासबारे बैठकमा ब्रिफिङ गरेका थिए ।
मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पुस ११ गतेसम्म पटक पटक स्थगित गर्दै सहमतिको प्रयास गरिएको थियो । तर, सहमतिबिनै संस्थापन पक्षले पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिकासहित विभिन्न सांगठनिक विषयमा निर्णय लिएको थियो । भेलामा पौडेलले उक्त निर्णय सच्याउनुको विकल्प नभएको भन्दै आफूले जिल्ला सभापतिसँग परामर्श आवश्यक गरेर आगाडि बढ्न खोजेको बताएका थिए । भेलामा महामन्त्री कोइरालाले सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा प्रभाव पार्नेगरी निर्णय लिएकाले यस विषयमा जिल्ला सभापति चनाखो हुनुपर्ने धारणा राखेका थिए ।
बैठक विधानका धारा निलम्बनमाथि लिइएको निर्णयप्रति केन्द्रित देखिएको छ । केन्द्रीय नेतादेखि जिल्ला सभापति समेतले क्रियाशील सदस्यतासम्बन्धी विधानका केही प्रावधान निलम्बनबारे चर्को विरोध गरेका थिए ।

Facebook Comments Box