दमक/दमक ८ स्थित सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउन भुमिका खेलेको आरोपमा पक्राउ परेका सरकारी कर्मचारीसहित ५ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत झापाले बुधबार उनीहरुलाई धरौटी छाड्न आदेश दिएसंगै उनीहरु तोकिएको धरौटी रकम बुझाएर रिहा भएका छन् ।
नापी कार्यालयका त्तत्कालीन सर्वेक्षक विनोद मण्डल, नापी विभागमा कार्यरत नापी अधिकृत स्टलीन भण्डारी, मालपोत कार्यालयका नायव सुब्बा कृष्ण भट्टराई जनही ३ लाख ९० हजार रुपैयाँ र पथरीशनिश्चरे मोरङका ओम प्रकाश पौडेल एक लाख ७५ हजार र सोही ठाउँका वेदबहादुर पौडेल ७५ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मण्डललाई गत मङ्सिर २० गते दमकबाट, भण्डारीलाई काठमाडौंबाट पुष ४ गते र भट्टराईलाई मङ्सिर २७ गते दमकबाट पक्राउ गरिएको हो । पथरीशनिश्चरेका ओमप्रकाश राई मङ्सिर ९ र वेदबहादुरलाई मङ्सिर २० गते पथरीबाट प्रहरीले पक्राउ गरेको थियो ।
सो प्रकरणका मुख्य आरोपि नेकपा प्रदेश नं १ का सदस्य रेवतराज पुरी गगनसहित दमक नगरपालिकामा कार्यरत मोहन ओली र दलबहादुर खत्री भने फरार रहेका प्रहरीले जनाएको छ ।

Facebook Comments Box