ताप्लेजुङ/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरेको गतिबिधिमा संलग्न एक जनालाई ताप्लेजुङबाट विष्फोटक पदार्थ तथा हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

मिक्वाखोला गाउँपालिका २ खोक्लिङ घर भएका ३१ वर्षीय चन्द्रबहादुर बस्नेतलाई घरैबाट पक्राउ गरी सार्वजनिक गरेको हो । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर र गोठ खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, इलेक्ट्रिक डेटोनेटर ७ थान, नन इलेक्ट्रिक डेटोनेटर १७ थान, टाइम सेटिङ डिभाइस जस्तो देखिने सेतो वस्तु ३ थान, रिमोट कन्ट्रोल सेट ३ थान, ब्याट्री सेट २ थान बरामद गरेको छ। यस्तै जिलेटिन ४५ थान, सेफ्टी फ्युज वायर साढे ३ फिट तथा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहसँग सम्वधित विभिन्न प्रकारका दस्तावेजहरू समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
उनी सो समुहको युवा दस्ता योङ रेड फोर्सका जिल्ला सहसचिव रहेको दाबी प्रहरीले गरेको छ । उनी विरुद्ध हातहतियार तथा विष्फोटक पदार्थसम्बन्धी कसुरमा म्याद थप गरि अनुसन्धान भइरहेको जनाइएको छ ।