दमक/ दुई साता अघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ ।
दमकमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि शुक्रबार अपरान्ह गाँउपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो । परिवारको स्वीकृतिमा बालिकालाई प्रदेश सरकारका प्रतिनिधिलाई जम्मा दिईएको गाँउपालिका अध्यक्ष माखिमले वताए ।
बालिका बुझन प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोका स्वकीय सचिव सुजन मंग्राती, इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राईसहितको टोली अस्पताल आएको थियो ।
बालिकालाई कानुनी प्रकृया पूरा गरेर गाँउपालिकाका अध्यक्ष माखिमलाई बुझाईएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले वताए ।
कक्षा ९ मा अध्ययनरत सीतालाई सरकारको लगानी रहेको इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयमा आवासीय सुविधासहितको शिक्षा दिइने प्रदेश सरकारले जनाएको छ ।
गत जेठ ६ गते भएको हत्याका घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । दमक ल्याईए पछि बालिका खजुमको लाइफलाइन अस्पतालमा उपचाररत रहेकी थिईन् ।
कोष खडा गरिदै
पाँचथर घर भई काठमाण्डौमा बस्दैआएका महिला अगुवाहरुको सक्रियतामा बालिकाका लागि एक कोष स्थापना गर्न अभियान शुरु गरिएको छ ।
रु १० लाखको कोष रहने गरि सहयोग संकलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले वताईन् । महिला अधिकारका क्षेत्रमा कृयाशील रिजालको संयोजकत्वमा तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा तथा कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङ्गदेम्बे संरक्षक रहने गरि हालै ११ सदस्यीय उक्त अभियान समिति गठन गरिएको छ ।
उनका अनुसार अभियानका क्रममा हाल रु २ लाख जुटिसकेको र रु १० लाख जम्मा गरिने छ । रु १० लाख रुपैया भन्दा बढी सहयोग संकलन नगरिने उद्देश्य राखिएको उक्त कोष निर्माणले भोलिका दिनमा बालिकाका लागि त्यस कोषले थप सहयोग पुरयाँउने उनले वताईन् । कोष चलाउन अभियान समिति र पीडित परिवारको हस्ताक्षार रहने बैक खाता खोलिने समेत जनाइएको छ । कोष स्थापना रकम संकलनमा दुरुपयोग हुन नदिन पाँचथरवासीहरुबाट मात्र सके स्वेछिक सहयोग जुटाउने संयोजक रिजालले वताईन् ।