आज देशभर भाइटीका मनाइँदै

Author Nishkarsha News
२०८३ कार्तिक २६, बुधबार ०९:३१

काठमाडौं/ नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । कात्तिक शुक्ल द्वितीया तिथिमा मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा लिइन्छ ।

तिहारलाई झिलिमिली, सेलरोटी, धनकी देवी लक्ष्मी, काग, कुकुर, गाई र गोरुको पूजा गरिने पर्वका रूपमा पनि चिनिन्छ । पाँच दिनसम्म मनाइने यमपञ्चकको अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरी भाइटीका लगाइदिने परम्परा छ ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि, आरोग्य र दीर्घायुको कामना गर्दै सप्तरंगी टीका लगाइदिने, माला पहिर्‍याउने र मिठा परिकार खुवाउने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गर्छन् ।

पौराणिक कथनअनुसार बहिनी यमुनाले यसै दिन आफ्ना दाजु यमराजलाई विशेष मानसम्मानसहित पूजा गरेकी थिइन् । यमपञ्चकका पाँच दिन यमराज बहिनी यमुनाको घरमा बसेका थिए । बहिनीले दाजुको आतिथ्यमा कुनै कमी हुन नदिई भाइपूजा गरेर यमराजलाई प्रसन्न पारेकी थिइन् । सोही समयदेखि भाइटीका मनाउने परम्परा सुरु भएको धार्मिक विश्वास छ ।

कसरी मनाउने भाइटीका ? यस्तो छ विधि

भाइटीका मनाउन धार्मिक तथा सांस्कृतिक विधि अपनाउने परम्परा छ । भाइटीकाका दिन बिहानै स्नान गरी अष्टचिरञ्जीवीको पूजा गर्ने चलन छ । यमराज, हनुमान, विभीषण र परशुरामलगायतलाई अष्टचिरञ्जीवीका रूपमा पूजा गरिन्छ ।

भाइटीकाका लागि ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, सयपत्री र दुबोको माला, रोटी तथा विभिन्न मिठा परिकार तयार गरिन्छ ।

दियो, कलश र गणेशको पूजा गरी बिमिरोको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगल कामना गर्दै घरको ढोकामा ओखर फुटाउने चलन छ ।

दाजुभाइ बसेको ठाउँको वरिपरि पानी र तेलले सात घेरा लगाइन्छ । त्यसपछि फूल, अक्षता, चन्दन र लाभाले पूजा गरी शिरमा तेल लगाइदिने परम्परा छ । सगुनका रूपमा दही खुवाएर निधारमा सप्तरंगी टीका लगाइन्छ । अन्त्यमा मखमली र सयपत्रीको माला पहिर्‍याइदिएर मिठा परिकार खुवाउने गरिन्छ ।

भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिन्छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्