तिहारको उल्लाससँगै विकृति नियन्त्रणमा चुनौती, जुवातास र विस्फोटक पदार्थ रोकिएन

Author Nishkarsha News
२०८३ कार्तिक २३, आईतवार २०:२५

झापा/ नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान बोकेको दोस्रो ठूलो पर्व तिहारको चौतर्फी उल्लास छाएको छ । दसैँ सकिएको १५औँ दिनदेखि सुरु हुने तिहारले धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक महत्त्व बोकेको छ ।
दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, आपसी सद्भाव, प्रेम र पारिवारिक एकताको सन्देश दिने यो पर्वलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ ।
जाडो मौसमको सुरुवातसँगै भित्रिने तिहारले बजार तथा व्यापारिक क्षेत्रमा पनि विशेष चहलपहल बढाएको दमकका पुराना सुनचाँदी व्यवसायी नेता काँशी खाती बताउँछन् ।
दशैं तिहारमा सुनचाँदीलगायत बहुमूल्य धातुको कारोबार बढ्नु स्वभाविक भएको खाती बताउँछन् । नयाँ कपडा, न्यानो लुगा, मिठाई, फलफूल, फूलमाला, विद्युतीय बत्ती तथा सजावटका सामग्रीको कारोबार पनि यतिबेला बढ्दै गएको छ ।
लक्ष्मीपूजासँग जोडिएको आर्थिक समृद्धि र धनधान्यको कामनाले पनि तिहारमा आर्थिक चहलपहल बढाउने गरेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ बताउँछन् । तिहार धार्मिक तथा सांस्कृतिक उत्सव मात्र नभई व्यापार, व्यवसाय र आर्थिक गतिविधि चलायमान बनाउने अवसरका रुपमा समेत लिन सकिने अध्यक्ष गुरागाइँको भनाई छ ।
पछिल्लो समय तिहार बहुसांस्कृतिक उत्सवका रूपमा पनि विकसित हुँदै गएको छ । विभिन्न समुदायले आ–आफ्नै सांस्कृतिक परम्परा र शैलीमा पर्व मनाउने क्रम बढेको निजी तथा संस्थागत बिद्यालयहरुको संगठन प्याव्सनका दमक नगर अध्यक्ष नविन योगीको बुझाई छ ।
पर्वसँगै देखिएको चुनौती
पर्व मनाउने नाममा केही अवाञ्छित गतिविधि पनि देखिन थालेका छन् । विशेषगरी जुवातास, अवैध तथा प्रतिबन्धित खेलहरू लुकिछिपी सञ्चालन हुने गरेको पाइन्छ ।
रमाइलो र मनोरञ्जनका नाममा सुरु हुने यस्ता गतिविधिले कतिपय परिवारमा आर्थिक संकट, आपसी विवाद र सामाजिक विकृति निम्त्याउने गरेका छन् ।

त्यस्तै, प्रशासनले प्रतिबन्ध लगाएका विस्फोटक तथा पटाकाजन्य पदार्थको अवैध कारोबार र प्रयोग पनि चुनौतीका रूपमा रहेको छ । यस्ता क्रियाकलापले आगलागी, शारीरिक चोटपटक, बालबालिकामा दुर्घटना तथा जनधनको क्षति निम्त्याउने खतरा छ ।
बजार अनुगमनलाई प्रभावकारी बनाउँदै अवैध विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नियन्त्रण चुनौतीपूर्ण बनेको कतिपयको बुझाई छ ।
सीमा नाका, बजार क्षेत्र, होटल, लज तथा सार्वजनिक स्थानमा आवश्यक सुरक्षा जाँच र निगरानी प्रभावकारी बनाउनुपर्ने नागरिकहरुको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्