काठमाडौं / अभिनेत्री रेखा थापा फेरि फरक भूमिकामार्फत दर्शकमाझ आउने तयारीमा छिन्।
प्रहरी अधिकृतको पोशाकमा देखिएकी उनको गम्भीर हाउभाउ, आत्मविश्वास र प्रभावशाली व्यक्तित्वले दर्शकको ध्यान खिचेको छ। न्यायको पक्षमा दृढतापूर्वक उभिने प्रहरी अधिकृतको भूमिकामा रेखाको प्रस्तुतिले उनको अभिनयको अर्को पाटो उजागर गरेको छ।
यसैबीच, रेखा थापा र अभिनेत्री निरुता सिंहको सहकार्य रहेको चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ। रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रले पारिवारिक सम्बन्धभित्रको मनमुटाव, असमझदारी र द्वन्द्वलाई मुख्य विषय बनाएको छ। चलचित्रमा रेखा र निरुतासँगै पुष्प खड्का, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ। लामो समयदेखि नेपाली चलचित्रमा आफ्नै पहिचान बनाएका रेखा र निरुतालाई एउटै पर्दामा देख्न पाउनु चलचित्रको विशेष आकर्षण बनेको छ।
पारिवारिक सम्बन्धमा आउने उतारचढाव र त्यसले निम्त्याउने द्वन्द्वलाई चलचित्रले कस्तो ढंगले प्रस्तुत गरेको छ भन्ने जिज्ञासा टिजर सार्वजनिक भएसँगै बढेको छ। रेखाको फरक भूमिका र निरुतासँगको सहकार्यले ‘३६ को आँकडा’लाई चर्चाको केन्द्रमा ल्याएको छ। रेखा फिल्मसको निर्माण रहेको चलचित्र ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउनेछ।