दमक/ दमक थुलुङ डेन्टलले झापाको शिबसताक्षी–७ फात्तेफस्थित बालसेवा आधारभूत विद्यालयका मा निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ ।
फात्तेफस्थित बाल सेवा आधारभूत विद्यालयको आयोजना र दमक थुलुङ डेन्टलको विशेषज्ञ डाक्टरहरुसहितको प्राविधिक सहयोगमा शुक्रबार एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो ।
सो शिविरमा १ सय ५८ जना विद्यार्थीहरुसहित विद्यालयका शिक्षक–शिक्षिकाहरु, कर्मचारी र अभिभावकहरुको दन्त परिक्षण गरिएको बाल सेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिए ।
शिविरमा दन्त परिक्षण गराउने विद्यार्थीहरुका दाँत तथा मुखको स्याहारसुसारमा चेतनाको विकास गर्न सहयोगी दाताहरुबाट प्राप्त सौजन्य वापत कोलगेट र ब्रसहरु वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनले बताए ।
निःशुल्क शिविरमा दन्त परिक्षण गराउने विद्यार्थीहरु मध्ये ४१ जना विद्यार्थीहरुको दाँत उखेलिएको ( झिकिएको) थियो । त्यस्तैं, सहभागि संख्याको ६० प्रतिशत विद्यार्थीको तत्कालै दन्त उपचार गरिनुपर्ने अवस्था देखिएको दमक थुलुङ डेन्टलकी सञ्चालिका एबम् दन्त रोग विशेषज्ञ डा.सोफिया थुलुङले जानकारी बताइन् ।
डा थुलुङले सा–साना बालबालिकाको दाँतको हेरचार, यसको स्याहारसुसारसम्बन्धि विद्यालयको कक्षा कोठामा विद्यार्थीहरुलाई संचेतना गराउन जरुरी रहेको बताइन् ।
एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको समापनमा दन्त शिविरमार्फत सामाजिक उत्तरदायित्व वहन गर्ने थुलुङ डेन्टल केयर सेन्टरसहित सञ्चालिका दन्त रोग विशेषज्ञ डा.सोफिया थुलुङलाई विद्यालयको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक वेणु कार्कीले स्वागत मन्तव्य राखेका थिए ।