नेका झापा ४ (१)को पहिलो बैठक, यस्तो छ सभापति ढकालको राजनीतिक यात्रा

Author Nishkarsha News
२०८३ कार्तिक २१, शुक्रबार ०९:२४

धरमपुर/  नेपाली कांग्रेस झापा–४ (१) को पहिलो बैठक सम्पन्न, सभापति बिनोद ढकालको राजनीतिक यात्रा स्मरण
झापा । नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि झापा क्षेत्र नं ४ (१) को प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ । सभापति विनोद ढकालको सभापतित्वमा बिहीबार बसेको पहिलो बैठकमा पार्टीको अघिल्लो कार्यकालको समिक्षासहित परिचयात्मक कार्यक्रम, धन्यवाद ज्ञापन सँगै शुभकामना आदानप्रदान गरिएको थियो ।
बैठकमा प्रदेश सभा क्षेत्रभित्रका महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, प्रदेश कार्यसमिति सदस्य, वडा तथा गाउँ/नगर सभापतिलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
दोश्रो कार्यकालका लागि ढकाल सो क्षेत्रमा पार्टी सभापतिका लागि निर्वाचित भएका हुन् । अघिल्लो कार्यकालमा पार्टी संगठनमा योगदान गर्ने सबैप्रति बैठकले धन्यवाद व्यक्त गरेको छ । झापा–४ (१) प्रदेश सभा क्षेत्रअन्तर्गत शिवसताक्षी नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ८ र ११, गौरीगञ्ज गाउँपालिकाका वडा नं. १ र २ तथा गौरादह नगरपालिकाको वडा नं. ९ गरी ११ वटा वडा समेटिएका छन् ।

नेविसंघको इकाईदेखि पार्टी सभापति सम्म ढकाल
नवनिर्वाचित सभापति बिनोद ढकालको राजनीतिक यात्रा २०४५ सालमा श्री मोति माध्यमिक विद्यालय, शिवसताक्षी–२ (साबिक धरमपुर गाविस–५) मा नेपाल विद्यार्थी संघको इकाइ सचिवबाट सुरु भएको हो ।
ढकाल २०५५ सालमा कनकाई क्याम्पस, सुरुङ्गाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएका थिए ।

त्यसैगरी, २०५८ देखि २०७३ सालसम्म धरमपुर गाविस सञ्चालन संयन्त्रमा रहेर सक्रिय भुमिका निर्वाह गरेका ढकालको नेपाली कांग्रेसमा निरन्तर सक्रियता र योगदान छ । १२औँ र १३औँ महाधिवेशनबाट धरमपुर गाउँ कार्यसमिति सभापतिमा निर्वाचित भएका ढकाल १४औँ महाधिवेशनमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति झापा–४ (१) को सभापति बनेका थिए । २०८३ असोज १३ गते सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट उनी पुनः सभापतिमा निर्वाचित भएका हुन् ।
राजनीतिक यात्रासँगै सहकारी तथा सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ढकालको नेतृत्वमा धरमपुर बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छ । उनले सहकारी क्षेत्रमा सक्रियतासँगै जिल्ला बचत संघ झापामा सचिवको जिम्मेवारी समेत सम्हालिरहेका छन् । पार्टी संगठनमा निरन्तरता र सामाजिक गतिबिधिमा समेत उनको सक्रियताले उनी आगामी दिनमा जनसेवाका लागि जनताको प्रतिनिधिका रुपमा स्थापित हुन सक्ने आंकलन गरिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्