झापा/ कमल गाउँपालिका–३ शहीदगेटस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार साँझ दमकको सप्तश्री एकेडेमीको बसले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीया युवतीको मृत्यु भएको छ।
साँझ ६:२० बजे झिलझिलेतर्फबाट केर्खा जाँदै गरेको मे १ क ६३८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करपछि अनियन्त्रित मोटरसाइकल दमकबाट बिर्तामोड जाँदै गरेको ट्रकमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इलाम नगरपालिका–८ की २१ वर्षीया माङकुमारी लिम्बूको मृत्यु भएको छ। मोटरसाइकल चालक २७ वर्षीय पञ्चबहादुर लिम्बू घाइते भएका छन्। उनलाई थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ।