दमकमा मासु तथा खाद्यान्नको मूल्य वृद्धि नगर्न निर्देशन, प्लास्टिकका फूल बिक्रीमा रोक

Author Nishkarsha News
२०८३ कार्तिक १७, सोमबार २१:५२

दमक /  झापाको दमक नगरपालिकाले चाडपर्वको समयमा बजारमा बिक्री–वितरण भइरहेका मासु तथा अन्य उपभोग्य वस्तुको स्वच्छता, गुणस्तर र मूल्य नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।

नगर प्रमुख रामकुमार थापाको संयोजकत्वमा सोमबार बसेको बैठकले मासु तथा खाद्यान्नको मूल्य वृद्धि नगर्नेदेखि बजार व्यवस्थापन र अवैध वस्तुको बिक्री नियन्त्रणसम्मका निर्णय गरेको हो ।
बैठकले हाल बजारमा कायम रहेका सबै प्रकारका मासुको मूल्य यथावत् राखेर बिक्री–वितरण गर्न व्यवसायीलाई निर्देशन दिएको छ ।

दीपावली र छठ पर्वपछि दमकका सम्पूर्ण मासु व्यवसायीसँग छलफल गरी आवश्यक निर्णय गर्ने पनि बैठकले जनाएको छ ।
त्यस्तै, खाद्यान्नलगायत सम्पूर्ण उपभोग्य वस्तुमा मूल्य वृद्धि नगरी व्यवसाय सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ । व्यवसायीले आफ्नो व्यवसायस्थलबाहिर फुटपाथ तथा सडक अवरुद्ध हुने गरी सामान राख्न वा व्यापार गर्न नपाउने र व्यवसाय दर्ता गर्दा तोकिएको स्थानमा मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैठकले गैरकानुनी रूपमा भन्सार छली गरी ल्याइएका फूललगायतका वस्तु तथा प्लास्टिकजन्य फूल बिक्री–वितरण गरेको पाइएमा जफत गरी नष्ट गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, दमक क्षेत्रमा सिटी रिक्सा तोकिएका स्थानमा मात्र पार्किङ गर्नुपर्ने र यात्रुबाट निर्धारित भाडादरभन्दा बढी रकम लिन नपाइने निर्णय गरिएको छ ।

चाडपर्वका बेला बजारमा हुन सक्ने मूल्यवृद्धि, अव्यवस्थित व्यापार, गुणस्तरहीन वस्तुको बिक्री तथा उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले बैठकले यी निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्