झापा / नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि झापाबाट विभिन्न विधा तथा क्लस्टरमा दुई दर्जनभन्दा बढी नेताले उम्मेदवारी दिए पनि मेदनीप्रसाद सिटौला मात्रै निर्वाचित भएका छन्। झापा, विशेषगरी निर्वाचन क्षेत्र नं. २ र ५ बाट ठूलो संख्यामा नेताहरूले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका थिए।
कांग्रेसको हालै सम्पन्न महाधिवेशनबाट चयन भएको २३१ सदस्यीय केन्द्रीय कार्यसमितिमा सिटौला केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका हुन्। पार्टीभित्र विद्रोही स्वभाव र स्पष्ट वैचारिक धारका युवा नेताका रूपमा परिचित दमक नगरपालिका–९ निवासी सिटौलाको केन्द्रीय राजनीतिमा प्रवेशलाई जिल्लाको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
झापाबाट खुला तथा विभिन्न क्लस्टरमा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये कोशी प्रदेशको भूगोलबाट निर्वाचित हुने सिटौला जिल्लाको प्रतिनिधित्व गर्ने एक्ला नेता बनेका हुन्। विश्वप्रकाश शर्मा पार्टीको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका भए पनि मतदान प्रक्रियाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने झापाका नेतामध्ये सिटौला एक्ला हुन्।
सिटौला नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय उपाध्यक्ष हुन्। उनी नेविसंघको उपाध्यक्ष रहँदा गुरुराज घिमिरे अध्यक्ष र गगन थापा महामन्त्री थिए। नेपाल ल क्याम्पसमा अध्ययनका क्रममा विद्यार्थी राजनीतिमार्फत कांग्रेसमा आबद्ध भएका सिटौला २०४६ सालको जनआन्दोलनमा सक्रिय थिए। विद्यार्थी आन्दोलन हुँदै नेविसंघको नेतृत्वमा पुगेका उनलाई तत्कालीन पञ्चायती शासकहरूले गिरफ्तार गरेका थिए।
२०६२/०६३ को जनआन्दोलनका क्रममा पनि उनी पटकपटक तत्कालीन शाही सत्ताबाट गिरफ्तार भएका थिए। आन्दोलनका क्रममा प्रहरी हिरासत र यातनासमेत भोगेका सिटौला राजनीतिक संघर्षको अनुभव बोकेका नेताका रूपमा परिचित छन्। उनले कानुनमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।
सिटौलाले नेपाल तरुण दलको केन्द्रीय समितिमा रहेर पनि काम गरिसकेका छन्। हाल कांग्रेस महामन्त्रीमा निर्वाचित उदयशमशेर राणाको नेतृत्वमा तरुण दलमा आबद्ध भएर उनले संगठनात्मक कामको अनुभव हासिल गरेका थिए। कांग्रेसको १४औँ महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका सिटौला यसपटक भने पार्टीको नेतृत्व र कार्यशैलीमा परिवर्तनको पक्षमा सक्रिय देखिएका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनदेखि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि बढाएको पार्टी रूपान्तरण अभियानमा उनी क्रियाशील रहँदै आएका छन्। कांग्रेसभित्र नेतृत्वको कार्यशैली परिवर्तन, पुस्तान्तरण र राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने विषयमा उनले जोड दिँदै आएका छन्।
लामो समय विद्यार्थी तथा भ्रातृ संगठनको राजनीतिमा सक्रिय रहेका सिटौलाको केन्द्रीय कार्यसमितिमा प्रवेशसँगै पार्टीभित्र उनको भूमिका र नेतृत्व रूपान्तरणसम्बन्धी एजेन्डाले कस्तो स्थान पाउँछ भन्ने विषय चासोको रूपमा रहनेछ।