गत भदौ १० गते भोटेकोशी नदी र त्रिशूली नदीमा अकस्मात् आएको बाढीको भयावह दृश्य सम्झँदा अझै पनि हाम्रो आङ सिरिङ हुन्छ ।
एकाएक आएको प्राकृतिक विपत्तिले जनधनमा पुर्याएको क्षति, आफन्त गुमाउनुको पीडा र बेपत्ताको प्रतीक्षामा रहेका परिवारको व्यथा शब्दमा व्यक्त गर्न कठिन छ। विश्वजगत्को ध्यान तान्ने गरी सिंगो मुलुकलाई स्तब्ध बनाएको यस घटनाले २०७२ सालको विनाशकारी भूकम्पसहित विगतका अनेकौँ प्राकृतिक विपत्तिको स्मरण गराएको छ ।
प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा आम नागरिकले देखाएको मानवीय संवेदना, सहयोग र उदारता प्रशंसनीय छ। विपत्तिमा परेकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था र समुदायले देखाएको सक्रियताले नेपाली समाजमा रहेको आपसी सद्भाव र सहयोगी भावनालाई पुनः उजागर गरेको छ। विपत्ति फेरि नदोहोरियोस् भन्ने कामना सबैको छ। तर कामनाले मात्र सम्भावित विपत्तिको जोखिम घट्दैन। त्यसका लागि पूर्वतयारी, प्रभावकारी सूचना प्रणाली, सुरक्षित पूर्वाधार र जिम्मेवार सरकारी संयन्त्र आवश्यक पर्छन्।
यही पीडा र अनिश्चितताबीच नेपालीका परम्परागत महान् चाड बडादसैँ, तिहार र छठ भित्रिएका छन् । यी पर्व नेपाली समाजका लागि धार्मिक तथा सांस्कृतिक उत्सव मात्र होइनन्, पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र आपसी सम्बन्ध नवीकरण गर्ने महत्वपूर्ण अवसर पनि हुन्। यद्यपि यस वर्षको दसैँ–तिहार सबैका लागि विगतका वर्षझैँ उल्लासमय हुने अवस्था छैन ।
आफन्त गुमाएका परिवार, बेपत्ताको खोजीमा रहेका नागरिक र घरबार तथा जीविकोपार्जनका आधार गुमाएकाहरूका लागि पर्वको खुसीभन्दा पीडा गहिरो हुन सक्छ।त्यसैले यस वर्षको पर्व मनाउने क्रममा हाम्रो खुसी अरूको दुःखप्रति संवेदनहीन बन्नु हुँदैन ।
अनावश्यक तडकभडक, फजुल खर्च र देखासिकीभन्दा विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने संस्कारलाई प्राथमिकता दिनुपर्छ। दसैँमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा तथा तिहारमा दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध उत्सवका रूपमा मनाउँदा दुःखमा परेका परिवारलाई सम्झनु नै पर्वको वास्तविक मानवीय अर्थ हो ।
आफ्नो क्षमताअनुसार राहत, खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री वा पुनःस्थापनामा सहयोग गर्नु प्रत्येक नागरिकको सामाजिक दायित्व हो।
यस सन्दर्भमा सरकारको दायित्व अझ महत्वपूर्ण हुन्छ । विपत्तिपछिको उद्धार र राहतमा मात्र सीमित नभई पीडितको दीर्घकालीन पुनःस्थापना, क्षतिको निष्पक्ष मूल्याङ्कन, राहत वितरणमा पारदर्शिता र जोखिम न्यूनीकरणका प्रभावकारी योजना कार्यान्वयन गर्नुपर्छ ।
चाडपर्वका नाममा बजारमा हुने कृत्रिम मूल्यवृद्धि, कालोबजारी र उपभोक्तामाथिको ठगी नियन्त्रण गर्नुका साथै सडक सुरक्षा, स्वास्थ्य सेवा र विपद् प्रतिकार्यलाई पनि प्राथमिकतामा राख्नुपर्छ। पीडितका नाममा घोषणा गरिएका सहयोग र राहत वास्तविक लाभग्राहीसम्म पुगे–नपुगेको अनुगमन गर्नु सरकारको जिम्मेवारी हो ।
दुःखमा साथ दिने, विपन्नलाई सहयोग गर्ने र संकटमा परेकालाई आशा जगाउने संस्कार नै नेपाली समाजको असल अभ्यास हो । वास्तविक शक्ति हो । सरकार जिम्मेवार बनोस्, हामी नागरिक अझ संवेदनशील बनौं र समाज सहयोगी बनोस । आफू खुसी हुने मात्र होइन, अरूको जीवनमा पनि खुसी फर्काउने प्रयास गर्नु हाम्रो कर्तव्य हुनेछ ।
(निष्कर्ष न्यूज साप्ताहिकको दशैं तिहार विशेषांकबाट साभार)