कांग्रेसको पदहस्तान्तरणसँगै शुभकामना आदनप्रदान, रवि केसीले सम्हाले क्षेत्रको नेतृत्व

Author Nishkarsha News
२०८३ आश्विन ३०, शुक्रबार २२:०७

झापा/ नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ क्षेत्रीय कार्यसमिति, प्रदेश ‘ख’ समिति र दमक नगर समितिको पद हस्तान्तरण तथा दसैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दमकस्थित पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा तत्कालिन क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले क्षेत्रको निर्णय पुस्तिका (माइन्युट) लगायतका अभिलेख नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित क्षेत्रीय सभापति रवि केसी न्यौपानेलाई हस्तान्तरण गरेका थिए । यसैगरी, प्रदेश ‘ख’ समितिका निवर्तमान सभापति रवि केसी न्यौपानेले नवनिर्वाचित सभापति पर्शुराम रिजाललाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै, दमक नगर समितिका निवर्तमान सचिव दीपेश दाहालले नवनिर्वाचित नगर सभापति सागर खनाललाई पद हस्तान्तरण गरेका थिए ।

तीनवटै समितिमा पद हस्तान्तरणसँगै नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको छ । कार्यक्रमले पार्टीभित्र संस्थागत निरन्तरता, सहकार्य र संगठन सुदृढीकरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पार्टीका कोशी प्रदेश सदस्य भुमिराज राईको प्रमुख आतिथ्य रहेको थियो भने चन्द्राकुमारी खड्का, निवर्तमान क्षेत्रीय सभापति भण्डारी, नवनिर्वाचित प्रदेश ‘ख’ सभापति रिजाल र दमक नगर का नवनिर्वाचित सभापति सागर खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सदस्य तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई,  संविधानसभा सदस्य तथा महाधिवेशन प्रतिनिधि विश्वदीप लिङ्देन, महाधिवेशन प्रतिनिधि रमा लिम्बुसहित पार्टी नेतृत्वको उपस्थिती थियो । त्यसैगरी महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, नगर तथा वडाका सभापति, प्रदेश प्रतिनिधि, क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र नगर तथा गाउँ समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य निवर्तमान क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले गरेका थिए भने सञ्चालन नवनिर्वाचित क्षेत्रीय सचिव आत्माराम राजवंशीले गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्