दमक/ झापाको दमक निवासी बाल गायिका आश्मी भट्टराईको स्वरमा रहेको पहिलो गीत तथा म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ। संगीतकार तथा गायक विशाल राईले एक संक्षिप्त कार्यक्रमबीच ‘मत सानी नानी……….’ बोलको बालगीत सार्वजनिक गरेका हुन्।
पूर्वाञ्चल मन्टेश्वरी इङ्लिस स्कुलकी छात्रा आश्मी सोही विद्यालयका संस्थापक निर्देशक माधव भट्टराई र प्रिन्सिपल सविता पोखरेलकी सुपुत्री हुन्। उनको स्वरमा रहेको उक्त बालगीतको रचना संगीत प्रशिक्षक कमला खनालले गरेकी हुन् भने गीतमा फणिन्द्र राईको संगीत रहेको छ।
गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका संगीतकार तथा गायक विशाल राईले बाल प्रतिभा भविष्यका धरोहर भएको उल्लेख गर्दै उनीहरूको प्रतिभा पहिचान, विकास र प्रोत्साहन अर्थपूर्ण तथा सजगतापूर्वक गर्नुपर्नेमा जोड दिए।
उनले गीतसंगीतको क्षेत्रमा गायन प्रतिभाले उच्च स्थान पाउने गरेको चर्चा गर्दै गीतका शब्द रचना र संगीत सिर्जनामा योगदान पुर्याउने सर्जकहरूको भूमिकाबारे भने तुलनात्मक रूपमा कम चर्चा हुने गरेको टिप्पणी गरे।
बालबालिकामा रहेका विशेष प्रतिभा उजागर गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै राईले प्रतिभाको विकास र प्रवर्द्धनमा सिंगो समाजको समेत उत्तिकै योगदान आवश्यक रहेको बताए।
आश्मीको पहिलो गीत तथा म्युजिक भिडियो सार्वजनिक भएसँगै उनको सांगीतिक यात्राको सुरुवात भएको छ।
प्रिन्सिपल पोखरेलको सभापतित्वमा भएको विमोचन कार्यक्रममा संगीतकार तथा बिहानी कला केन्द्रकी प्रशिक्षक कमला खनालले आश्मीको सानै उमेरदेखिको गायन रुची र सम्भावनाका बिषयमा जानकारी गराएकी थिइन् । बाल प्रतिभालाई उचित अवसर, प्रोत्साहन र मार्गदर्शन दिन सके उनीहरूले भविष्यमा नेपाली गीतसंगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।